2026 April 23/ 08:27: 50pm

    बल्थली, पनौती/९ बुँदे ‘बल्थली घोषणापत्र’ जारी गर्दै प्रेस काउन्सिल नेपालद्धारा आयोजित ‘पत्रकार आचारसंहिता, महिला उत्तरदायी निर्देशिका, २०७६ र मिडियामा महिला सवाल’ विषयक बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ । 
    काउन्सिलले छलफलका क्रममा उठेका महत्वपूर्ण सुझावलाई आत्मसाथ गर्दै सो घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा काउन्सिलको स्वअनुगमनलाई अझ तीव्र र प्रभावकारी बनाइने उल्लेख गर्दै पत्रकार आचारसंहिता, महिला उत्तरदायी निर्देशिका २०७६ मा उल्लिखित प्रावधानलाई पूर्णरूपमा पालना गर्न÷गराउन पत्रकारलाई सजग गराउने जनाइएको छ । काउन्सिलले अनुगमन अनुसन्धानबाट दोषी ठहर भएका पत्रकार, मिडियाको नाम अनिर्वाय सार्वजनिक गर्ने निर्णय गरेको घोषणापत्रमा उल्लेख छ ।
    घोषाणापत्र जारी गर्दै कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले अनुगमनमा काउन्सिलले निरन्तर जोड दिनुका साथै समय÷समयमा ‘नमुना सर्वेक्षण’ गरि सरोकारवालासँग बहस गर्ने बताउनुभयो । उहाँले सहभागीबाट आएको सल्लाह र सुझावलाई ग्रहण गर्दै घोषणापत्र जारी गरिएकाले महिलासम्बन्धी समाचार सम्प्रेषण गर्दा पेसागत हित र अवसरलाई प्रोत्साहन एवं संरक्षण गर्नुपर्ने बताउनुभयो ।
    काउन्सिलका बोर्ड सदस्य दीपक पाण्डेको उपस्थिति रहेको उक्त कार्यक्रममा अर्का सदस्य दुर्गा भण्डारीले महिला अधिकारको सम्मान, संरक्षण र सम्बोधन हुनेगरि समाचार सम्प्रेषण गर्न, आचारसंहिता र निर्देशिकामा उल्लिखित प्रावधानहरूको कार्यान्वयनमा काउन्सिल प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले धन्यवाद दिनुभएको उक्त कार्यक्रममा घोषणापत्र सार्वजनिक हुनुअघि वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले बुधबार र बिहीबार भएको छलफलमा उठेका सुझावहरू समेटी प्रस्तावित घोषणापत्रका बुँदाहरू पारित गर्न वाचन गरेर सुनाउनुभएको थियो ।
    सो अवसरमा नेपाल बार एसोसिएसनका उपाध्यक्ष रक्षा बस्यालले बल्थली घोषणापत्रको कार्यान्वयनमा काउन्सिल मात्र नभई सबै सरोकारवाला सक्रिय भइ लाग्नुपर्ने बताउनुभयो । सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्माले पत्रकार आचारसंहिता÷निर्देशिकाविपरीत लैङ्गिक, लैङ्गिक अल्पसंख्यकका विरूद्ध समाचार सम्प्रेषण गर्ने पत्रकार र मिडियालाई तत्काल कारबाही गर्न सुझाव दिनुभयो । काउन्सिलले जारी गरेको घोषणापत्र यसप्रकार छ– प्रेस काउन्सिल नेपालको स्वअनुगमनलाई अझ तीव्र र प्रभावकारी बनाइनेछ । पत्रकार आचारसंहिता, महिला उत्तरदायी निर्देशिका, २०७६ मा उल्लिखित प्रावधानलाई पूर्णरूपमा पालना गर्न पत्रकारलाई सजग गराइनेछ । यसको प्रभावकारी अनुगमनमा प्रेस काउन्सिल नेपालले निरन्तर जोड दिनेछ । साथै समय÷समयमा ‘नमुना सर्वेक्षण’ गरि सरोकारवालासँग बहस छलफल गर्नेछ ।
    काउन्सिलको अनुगमन, अनुसन्धानबाट दोषी ठहर भएका पत्रकार, मिडियाको नाम अनिवार्य सार्वजनिक गरिनेछ । नेपाल प्रहरीले बलात्कार तथा यौन दुव्र्यवहारजस्ता अति जघन्य अपराधका पीडित महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकको विवरण दिने क्रममा उनीहरूको नामथर, पेसा तथा आफन्तको पहिचान खुलाउँदा पीडितलाई थप पीडा पुग्ने मात्र नभई पीडितको आफन्तलाई समेत मनोवैज्ञानिक असर पर्ने भएकाले यस्ता विषयमा सूचना दिँदा सजग रहन ध्यानाकर्षण गराउँदै नेपाल प्रहरीलाई लेखी पठाइनेछ । साथै प्रेस काउन्सिल नेपालले यस्ता विषयमा सूचना सम्पे्रषण गर्दा सजग हुन मिडियालाई निर्देशन दिनेछ ।