2026 April 23/ 08:29: 23pm

    धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेले सर्वाेच्च अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतबाट सजायँ सुनाईएका तथा जरिवाना तोकिएका ब्यक्तिहरुलाई धमाधम पक्राउ गरेको छ । पछिल्लो एक सातामा प्रहरीले विभिन्न स्थानबाट फरार ब्यक्तिहरु पक्राउ गरी अदालत बुझाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । 
    प्रहरीले २०७४ फागुन ३० गते जिल्ला अदालत काभ्रेपलाञ्चोकले बेथानचोक गाउँपालिका वडा नम्वर ६ बाट  ३३ बर्षीय लक्ष्मी विश्वकर्मालाई पक्राउ गरेको छ । अदालतले विश्वकर्मालाई घरेलु हिंसामा ७३ हजार ७ सय ५० रुपैयाँ जरिवाना तोकेको थियो । 
    त्यस्तै प्रहरीले २०७७ फागुन १२ गते लागु औषध मुद्दामा २०७४ असार ३१ गते बनेपा नगरपालिका वडा नम्वर १२ गोठडाँडा घर भई फरार रहेका ४३ बर्षिय टिकाबहादुर तामाङ, सार्वजनिक अपराध मुद्दामा २०७२ माघ २८ गते फैसला सुनाईएका मण्डनदेउपुर नगरपालिका वडा नम्वर ६ का ३१ बर्षिय कान्छा भन्ने महेश राई, २८ बर्षिय राजन राई, २०७३ बैशाख २८ गते सवारी ज्यान तथा सरकारी छाप दस्तखत किर्तेमा कुशादेवी २ का दिपेन्द्र हुमागाई, २०७० बैशाख ३१ गते घर भत्काई पाउँ भन्ने मुद्दामा बनेपा १४ नासिकास्थान घर भएका ४८ बर्षीय तिलकबहादुर राई र २०७५ पुष १६ गते ठगी मुद्दाका धुलिखेल १ देवीटारका ३९ बर्षीय यादव होरासैनी पक्राउ परेका छन् । 
    त्यस्तै नियन्त्रित लागू औषध ओसार–पसार अभियोगमा फागुन १२ गते रोशी गाँउपालिका वडा नम्वर ९ स्थित बि.पि राजमार्ग सडक खण्डको मंगलटार बजारमा सवारी चेकजाँचका क्रममा झापाबाट काठमाडौतर्फ जाँदै आउँदै गरेको बा.४.ख २२६७ नम्वरको हायस गाडीमा यात्रा गर्ने यात्रु सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका वडा नम्वर १० बस्ने २२ बर्षीय धर्मेन्द्र कुमार रामले बोकेको झोलाबाट झण्डै १ हजार ३ सय क्याप्सुल सहित पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनु भयो ।