2026 April 23/ 06:39: 07pm

    धुलिखेल/सामुदायिक सारथीले नमोबुद्ध एमएमको सहकार्यमा जिल्लाका कृयाशिल संचारकर्मीहरुलाई एक दिने खोज पत्रकारिता सम्वन्धी तालिम उपलब्ध गराएको छ । तालिममा सिकेका विषयलाई ब्यवहारत प्रयोगमा ल्याउने गरी फेलोसिपको समेत ब्यवस्था गरिएको छ । जिल्लाका १० जना पत्रकारहरुले उक्त पत्रकारिता सम्वन्धी फेलोसिप पाउने छन् । 
    तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले गर्नु भएको थियो । तालिमको उद्घाटन गर्दै तिमल्सिनाले मुलुक निर्माणमा पत्रकारहरुले पु¥याएको योगदानलाई खोज पत्रकारिताको माध्यमबाट थप शशक्त बनाउँदै ब्यक्तिको निखारता, समाजको रुपान्तरण र शासन ब्यवस्थालाई अझै बलियो बनाउन पत्रकारिताको माध्यमलाई विश्वासिलो बनाउँदै जानु पर्ने बताउनु भयो । प्रशिक्षक नेपाल पत्रकार महासंघका पुर्व सभापति तारानाथ दाहालले खोज पत्रकारिताका बारेमा विभिन्न विषयमा जानकारी गराउनु भएको थियो । सामुदायिक सारथीका अध्यक्ष कृष्णप्यारी नकर्मीले समाजका हरेक क्षेत्रलाई पारदर्शी, शुसासन र जवाफादेहि बनाउन सामुदायिक सारथीले जिल्लाका केहि पालिकाहरुसँगको सहकार्यमा काम गरिरहेको बताउनु भयो । कार्यक्रममा सामुदायिक सारथीका कार्यकारी निर्देशक ताराबहादुर भण्डारी, कार्यक्रम संयोजक कर्णबहादुर नेपाली, रेडियो नमोबुद्धका अध्यक्ष भक्त स्याङ्गतान, स्टेसन म्यानेजर हिरामान लामा लगायतले खोज पत्रकारिता सम्वन्धी तालिमले संचारकर्मीहरुका लागि थप सहजता हुने बताउनु भयो । एकदिने तालिममा जिल्लाका २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।