बनेपा/काभ्रेपलाञ्चोक एवं काठमाडांै जिल्लाभर कार्यक्षेत्र रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापना दिवस सम्पन्न गरेको छ ।
कोभिड १९ अर्थात कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरि संस्थाले सम्पूर्ण सेवा कार्यालयहरुमा दिप प्रज्वलन एवं विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम सहित आफ्नो स्थापना दिवस सम्पन्न गरेको प्रमुख कार्यकारी अधिकृत केबी लामाले बताउनु भयो । कार्यक्रमका अवसरमा संस्थाको समूहगत र क्षेत्रगत अवधारणामा संचालित साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रे तथा काठमाडौ जिल्लाभित्र १ हजार ८ सय २६ वटा समूह मार्फत ३९ हजार ५ सय ९१ शेयर सदस्य र ७ हजार ९ सय ८२ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ४७ हजार ५ सय ७३ सेवाग्राही, शेयर पुँजी ३५ करोड ४३ लाख ७८ हजार, ऋण लगानीमा वाँकी २ अर्व ६२ करोड ४७ लाख ५३ हजार, बचत तथा निक्षेप २ अर्व ५४ करोड ५ लाख ४ हजार पु¥याई कुल सम्पत्ति ३ अर्ब ४४ करोड ४८ लाख ५१ हजार सम्पति तथा जायजाद पु¥याउन संस्था सफल भएको लामाले बताउनु भयो ।
स्थापना दिवसको पूर्वसन्ध्यामा भकुण्डे सेवा कार्यालयको व्यबस्थापनमा धुलिखेल अस्पताल, रोटरी क्लब अफ पनौती र रोटरी क्लव अफ कुम्सको प्राविधिक सहयोग तथा रोशी गाउँपालिका र स्माइल केयर फार्मेसीको सहकार्यमा रोशी गाउँपालिका फलामेसाँघुमा महिलाहरुको स्वास्थ्य परीक्षणका साथै पाठेघरको मुखको क्यान्सर परीक्षण र निःशुल्क औषधी वितरण गरिएको थियो । साकोसको सेवा कार्यालय ढुंखर्कले रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा र बेथानचोक गाउँपालिकाको संयुक्त आयोजनामा १ दिने निःशुल्क आँखा परीक्षण शिविर संचालन गरिएको थियो भने सेवा कार्यालय भकुण्डेको व्यवस्थापन र प्रिमियर डेन्टलको प्रावधिक सहयोगमा १ दिने दन्त शिविरका साथै सवै सेवा कार्यालयहरुको सदस्य विस्तारित भेला एवं सदस्य शिक्षा कार्यक्रम संचालन गरिएको थियो ।
त्यसैगरी स्थापना दिवसको दिन फाल्गुण ६ गते सवै सेवा कार्यालयहरुमा पूजा अर्चना, दिपावली गर्नुका साथै ग्रिन कार्ड छनौटमा पर्न सफल २४ जना सदस्यलाई ऋण सहुलियत परिचयपत्र वितरण, कार्यालयगत जेष्ठ सदस्य सम्मान, अपाङ्गता भत्ता, रोशी गाउँपालिका १० तारेमा रहेको जागेश्वर आधारभुत विद्यालयका ५० जना विद्यार्थीलाई स्टेशनरी वितरणका साथै विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरी स्थापना दिवस सम्पन्न गरेको छ ।









