पनौती/पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ हुने श्री स्वस्थानी ब्रत सँगसँगै शंखरापूर नगरपालिकामा अवस्थित शालीनदीमा माधव नारायण भगवान्को पूजा आराधना सुरु भएको छ ।
महिना दिनभर एकचित्त रहि दिनभर चोखो बस्नुपर्ने उक्त ब्रत बस्नाले सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेको छ । ब्रत अवधिभर देशका विभिन्न धार्मिक तिर्थस्थलहरुमा गई स्नान गर्ने चलन चल्दै आएको यस धार्मिक कार्यमा विशेष गरी महिलाहरु महिना दिन भर ब्रत बस्ने र नाङ्गो खुट्टा एकपछि अर्को तिर्थस्थलहरुमा गई ब्रत बस्ने चलन रहेको छ । उक्त सन्दर्भमा यो वर्ष पनि श्री माधव नारायणको आगमन धार्मिक महत्व बोकेको पनौती नगरमा भएको छ ।
पनौतीमा साँखुबाट आउने ब्रतालुहरुलाई जाडो नहोस् भनि आगमन हुने दिन पनौतीका युवाहरु माझ लोकप्रिय संस्था पनौती नेपालले बाटो बाटोमा दाउराको व्यवस्था गरी न्यानोको व्यवस्था मिलाएका थिए । त्यस्तै ब्रतालु भक्तजनहरु एवं स्वयंसेवकहरुलाई भोजनको व्यवस्था समेत पनौती नेपालले गरेको थियो भने यो चिसो मौसममा भक्तजन, स्वयंसेवक एवं आगन्तुक पाहुनाहरुका लागि ओड्ने, ओछ्याउने र सुत्ने व्यवस्था पनौती जात्रा पर्व मूल व्यवस्थापन समितिले गरेको थियो । ब्रतालु भक्तजनहरुलाई पनौतीको बसाई अवधि भर कुनै पनि अप्ठेरो नहोस् भनेर विशेष ख्याल राखेका कुरा पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठले जानकारी दिनु भयो । आउँदो वर्ष मकर मेला पनि भएको हुनाले माधव नारायणको यो मेला विशेष हुने र व्यवस्थापनमा पनि विशेष व्यवस्था मिलाउनु पर्ने उहाँले बताउनुभयो । साँखुको श्री माधव नारायण पनौतीमा ल्याउनुले पनि पनौतीको धार्मिक महत्व कति रहेछ भन्ने प्रष्ट हुन्छ र ऐतिहासिक नगर पनौती र साँखुको सम्बन्धको बारेमा पनि प्रष्ट हुन सकिन्छ ।









