2026 April 23/ 03:47: 48pm

बनेपा/काठमाडौ र काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र बनाई सदस्य, समुह र समुदायमा आधारित एशियाकै सर्वोत्कृष्ट संस्थाका रुपमा स्थापित भएको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ढुंखर्क सेवा कार्यालय, रेयुकाई एईको मासुनागा आँखा अस्पताल  र  बेथानचोक गाउपालिकाको संयुक्त आयोजनामा १ दिने निःशुल्क आँखा परीक्षण शिविर बेथानचोक गाउँपालिका वडा नं. ६ भुग्देउ स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । 
 सामाजिक तथा सामुदायिक उत्तरदायित्व अन्तर्गत अन्धोपन निवारण गर्ने उद्देश्यले भुग्देउ लगायत आसपासका क्षेत्रका स्थानीय बासिन्दाहरुलाई निःशुल्क आँखा शिविरको आयोजना गरिएको बिन्धवासिनी साकोसका प्रमुख व्यवस्थापक के.बि. लामा स्याङ्तानले  बताउनु भयो । शिविरमा भुग्देउ लगायत आसपासका ३ सय १ जनाको आँखाका विरामीहरुले आँखाको परीक्षण गरीएको थियो भने ९२ वटा चस्मा एवं आवश्यक औषधी निःशुल्क वितरण गरिएको बिन्धवासिनी साकोसका सूचना अधिकारी मित्र प्रसाद दाहालले जानकारी दिनुभएको छ । शिबिरमा बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम वहादुर तिमल्सिनाको प्रमख आतिथ्यता रहको थियो भने कार्यक्रममा विन्धवासिनी साकोसका संचालक समितिका सदस्य गोविन्द प्रसाद अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो । 
 बेथानचोक गाउँपालिकाका प्रशासकीय प्रमुख राजेन्द्र भण्डारी, वडा नं. ६ का वडा अध्यक्ष विष्णु तामाङ, स्वास्थ्य चौकी प्रमुख किरण न्यौपाने लगायत बिन्धवासिनी साकोसका समिति, उपसमिति एवं कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको समुद्घाटन बेथानचोक गाउपालिका अध्यक्ष प्रेम वहादुर तिमल्सिनाको आँखा परीक्षण गराई शुरु गरिएको थियो । आँखा शिविरमा ४० जना मोतियाविन्दुको विरामीहरु देखिएको र उक्त  विरामीहरुलाई निःशुल्क अपरेशन, कोरोना परीक्षण तथा अस्पताल सम्मको यातायातको व्यवस्था समेत गरिने बताएको छ ।  नियमित निःशुल्क आँखा परीक्षण गरी गाउँपालिका भित्र अन्धोपन निवारण गर्न आर्थिक बर्ष २०७७।०७८ को लागि बिन्धवासिनी साकोस, बेथानचोक गाउँपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बीच त्रिपक्षीय संझौता गरी निःशुल्क आँखा परीक्षण कार्यक्रम प्रारम्भ गरिएको बिन्धवासिनी साकोसका प्रमुख व्यवस्थापक के.बि. लामा स्याङ्तानले जानकारी दिनुभएको छ  ।