2026 April 23/ 03:46: 55pm

नमोबुद्ध/नमोबुद्ध नगरपालिकाको आठौं नगरसभा चार विधेयक पारितसँगै सम्पन्न भएको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले आठौं नगरसभाको पहिलो बैठकमा पेश भएका वन विधेयक २०७७, नगर युवा परिषद विधेयक २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ र शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको हो । नगर सभाले आर्थिक बर्ष २०७७÷०७८ को विनियोजन ऐन २०७७ माथिको संशोधन प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ । 
नगरसभाको बैठकमा वडा अध्यक्षहरु सञ्जीव ढकाल, रामशरण हुमागाईं, वुद्धसिं तामाङ, रामकृष्ण उपाध्याय र कृष्णवहादुर तामाङले विभिन्न विधेयकहरु पारितका लागि प्रस्ताव गरेका थिए । बैठकले २०७७ असार १० गतेदेखि २०७७ माघ १९ गतेसम्म नगर कार्यपालिकाका बैठकले गरेका निर्णय, न्यायिक समितिका निर्णय तथा आर्थिक एवं प्रशासनिक निर्णयहरु अनुमोदन समेत गरेको छ । आठौं नगरसभाकै अवसर पारेर नमोबुद्ध नगरपालिका कानुन संग्रह भाग एक र भाग दुई सार्वजनिक गरेको छ । 
ल्होसारमा विदा
नमोबुद्ध नगरपालिकाले ल्होसार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ । सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।