2026 April 23/ 03:46: 56pm

पनौती/दलिञ्चोक भलिबल क्लवको आयोजनामा पनौती नगरपालिका–६ मा भएको शहिदस्मारक जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधी खानीखोला गाउँपालिकाले जितेको छ । १४ टिमको सहभागिता रहेको प्रतियोगिताको अन्तिम खेलमा महाभारत गाउँपालिकालाई २–३ को सेटमा पराजित गर्दै खानिखोला गाउँपालिका विजयी भएको हो । जितसँगै खानीखोलाले नगद ३५ हजार, महाभारतले २० हजार र तेस्रो हुन सफल मण्डनदेउपुर र न्यु गौखुरेश्वर धुलिखेलले १०÷१० हजार सहित ट्रफी र मेडल प्राप्त गरेका छन् । भलिबल प्रतियोगिताको उद्घाटन पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले गरेका थिए भने समापन कार्यक्रममा बागमती प्रदेश सांसद चन्द्र लामाको प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा बोल्दै सांसद् लामाले खेलले स्वस्थ बनाउनुका साथै आफ्नो क्षेत्रको परिचय दिने र मनोरञ्जन समेत प्रदान गर्ने भएकाले खेलकुदको विकासमा सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै नगर प्रमुख न्यौपानेले नगरपालिकाले खेल क्षेत्रलाई प्रथमिकतामा राखेको बताउँदै पनौतीमा निर्माणाधिन क्षेत्रिय रंगशाला निर्माण सम्पन्न भएपछि खेल क्षेत्रको विकासमा ठुलो सफलता मिल्ने बताएका छन् । कोरोना महामारी सुरु भएसँगै ठप्प रहेको खेलकुद गतिविधिलाई सुचारु गर्न प्रतियोगिता आयोजना गरिएको संयोजक कुमार बस्नेतले जानकारी दिए । भलिबल प्रतियोगिता हरेक वर्ष आयोजना गरिने र पुरस्कार रासीमा पनि वृद्धि गरिने उनले बताए । प्रतियोगिताका लागि पनौती नगरपालिका कार्यालय, पनौती नगरपालिका वडा नम्वर ६, विभिन्न संघसंस्था तथा खेलप्रेमी समाजसेवी व्यक्तिहरुको सहयोग गरेका थिए ।