पनौती/पनौती नगरपालिकामा विपद्मा आइपर्ने समस्या तथा समाधान सम्बन्धी संरक्षण विषयगत क्षेत्रको भुमिका बारे २ दिने परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय महिला तथा बालवालिका विभागको आयोजनामा कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा नगर प्रमुख भिम न्यौपाने, उप–प्रमुख गिता बञ्जारा, महिला तथा बालबालिका विभागकी निमित्त महानिर्देशक दुर्गादेवी देवकोटा पौडेल, महिला विकास अधिकृत निर्मला कार्की, सह–सचिव उमेश ढुङगाना, पनौती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद वाग्ले, वरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारी, विभिन्न शाखा प्रमुख र वडा अध्यक्ष लगायत विभिन्न क्षेत्रको व्यक्तिहरको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख भिम न्यौपानेले विपद् जोखिम न्युनिकरणका कार्यक्रम तय गरी काम गरिरहेको बताएका छन् । महिला हिंसा न्यूनीकरण, बालमैत्री नगरपालिका बनाउनका लागि विभिन्न कार्यक्रम तय गरी काम भइरहेको पनि जानकारी दिएका छन । कार्यक्रममा सह–सचिव उमेश ढुंगानाले संरक्षण विषयगत क्षेत्र कार्यान्वयनका लागि तीन तहका सरकारको भुमिकाका विषयमा प्रस्तुती दिएका थिए । यस्तै निमित्त महानिर्देशक पौडेलले नेपाल प्राकृतिक प्रकोपको दृष्किोणले जोमिको अवस्था बारेमा जानकारी गराएकी थिइन् । नेपाल भुकम्पिय जोखिमका हिसावले ११ औं स्थानमा छ । यस्तै जलवायु जोखिमका हिसावले चौथो, प्राकृतिक जन्य प्रकोपको हिसावले उच्च जोखिममा, बाढीको हिसावले ३० औं स्थानमा रहेको छ । काठमाण्डौं उच्च जोखिमका शहरहरु मध्ये २१ औं स्थानमा हेको छ । औसतमा दैनिक एक विपद र प्रतिदिन दुई व्यक्तिको मृत्यु हुने गरेको छ भने नेपाल भुकम्पीय जोखिमको दृष्टिले उच्च स्थानमा रहेको छ । यस्तै कार्यक्रमको दोस्रो दिन काभ्रेका प्रमुख जिल्ला अधिकारी शिराम पोखरेलले संरक्षण विषयगत क्षेत्रको राष्ट्रिय रणनीतिक कार्ययोजना २०७३ बारे जानकारी गराएका थिए भने सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी होमागाई खतिवडाले घरेलु हिंसा प्रभावितका लागि सञ्चालित जिल्ला सेवा केन्द्र, सामुदायिक सेवा केन्द्र, एकद्धार संकट व्यवस्थापन केन्द्र सञ्चालन व्यवस्था तथा सम्प्रेषण प्रणाली स्थापना र लैंगिक हिंसा निवारण कोष परिचालनमा स्थानीय तहको भुमिका बारे प्रस्तुतीकरण दिएकी थिइन् । यस्तै पनौती नगरपालिकाका विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन समितिका सदस्य सचिव प्रेम कुमार सोनामले विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनको क्षेत्रमा नगरपालिकाको प्रयास र उपलब्धी बारे जानकारी गराएका थिए । नगरपालिकाले जोखिम न्युनीकरणका लागि कानुन नै बनाएर काम गरिरहेको, पनौती नगरपालिकाका विभिन्न वडाहरुमा केन्द्र हुनेगरी कुशादेवी, भैसीकाटे चौर, पनौती रेडक्रस भवन, रोशी, खोपासी र सुन्थानमा आवश्यक सामाग्री भण्डारण केन्द्र बनाइएको, कुनै क्षति भएमा राहतको समेत व्यवस्था गरिएको उनले जानकारी दिनुभयो ।









