पनौती/पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले पनौती नगरपालिका–३ का दिनेश सापकोटाले पाल्नु भएको सुत्केरी भैंसीलाई भेट्नु भएको छ । सुत्केरी मसला स्वरुप भैंसी स्याहारका लागि आवश्यक औषधी सहित पुग्नु भएका नगर प्रमुख न्यौपानेले, उप–प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद वाग्ले, कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणिप्रसाद सापकोटा र वडा नम्बर ३ का वडा अध्यक्ष किशोर थापाले संयुक्त रुपमा सुत्केरी भत्ता ५ हजार प्रदान गर्नुभएको थियो । नगर प्रमुख न्यौपानेले पाडि पालक कृषकको परिवारलाई माला, खादा लगाएर सम्मान पनि गर्नुभएको थियो । सोहि क्रममा उहाँले पाडी पाल्न चाहने हरेक कृषकलाई पाडी उपलब्ध गर्ने बताउँदै यसले परिवारलाई स्वस्थ बनाउन र परिवारको समृद्धिमा ठुलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
भैंसी संरक्षण अभियान अन्तर्गत नगरपालिकाले गत वर्ष ३ सय वटा पाडि कृषकलाई उपहार दिएकोमा यो वर्ष २ सय भन्दा बढी ब्याउने छन् । जसमध्ये दिनेश सापकोटाले पाल्नुभएको पाडी पहिले ब्याएको हो । नगरपालिकाले हालसम्म ४ सय १० वटा पाडी कृषकलाई वितरण गरेको छ भने यस वर्ष थप ४ सय पाडी विरण गर्ने लक्ष्य छ । पाडी प्राप्त गर्ने कृषकमध्ये पहिलो पाडी ब्याउने कृषकलाई नगरपालिकाले पुरस्कार दिने समेत घोषणा गरेको थियो । सोहि घोषणा अनुरुप नगरपालिकाले सापकोटालाई १० हजार रुपैयाँ पुरस्कार समेत दिनुभएको छ । नगरपालिकाले कृषितर्फ आकर्षित गर्न र कृषकलाई आत्मनिर्भर बनाउन कृषि तथा पशुपंक्षीको क्षेत्रमा नयाँनयाँ कार्यक्रम गरिरहेको छ । नगरपालिकाले पहिलो बेत ब्याउनेलाई ५ हजार र त्यसपछि २ हजारका दरले भैंसी सुत्केरी भत्ता उपलब्ध गराउने गरेको छ । जसअन्तर्गत पहिलो वर्ष ४ सय ३३, दोस्रो वर्ष ६ सय १८ र चालु वर्षको यो अवधिसम्म ८ सय भन्दा बढी कृषकलाई भैंसी सुत्केरी भत्ता उपलब्ध गराइएको कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यस्तै भैसीको तथ्याङ्क संकलन, भंैसीको पकेट क्षेत्र निर्धारण, गोठ÷खोर सुधारका लागि अनुदान, पशु विमाको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान, पशु आहाराका लागी घाँसका विउ वितरण र प्रविधि हस्तान्तरण, पशु खोप तथा उपचार सेवा कार्यक्रम तथा अन्य आवश्यकीय भेटेरीनरी सेवाहरू प्रदान गरिएको कृषि तथा पशुपक्षी शाखाका प्रमुख सापकोटाले जानकारी दिनुभयो । पाडी वितरणमा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिँदै कृषक छनौट गरएिको छ भने पाडी प्राप्त गर्ने कृषकको २ लाख रुपैंयाबराबरको दुर्घटना बीमा र पाडीको पशु बीमा नगरपालिकाले नै गर्दै आएको छ ।
भैंसी संरक्षण र संवद्र्धन कार्यक्रममा किसानहरूको सहभागिता बढेका कारण हाल नगरक्षेत्रमा भंैसीको संख्या ७ हजार १ सय ७६ पुगेको छ भने दुध उत्पादनमा समेत वृद्धि भएको छ । नगरपालिकाले नगरपालिका क्षेत्रको वडा नम्वर १, २ र १२ लाई भैसीपालन पकेट क्षेत्र, वडा नम्वर ३, ८ र १० लाई गाई पालन क्षेत्र, ६, ९ र ११ लाई बाख्रा पालन क्षेत्र तथा ४,५ र ७ नम्वर वडालाई तरकारी खेतिको पकेट क्षेत्र घोषणा गरी कार्य गरिरहेको छ ।
सुरुमा कार्यक्रमका बारेमा अनेक टिकाटिप्पणी भएपनि जनताको जिवनमा यसले सकारात्मक प्रभाव बढेपछि धेरैले प्रशंसा गर्न थालेको सापकोटाको भनाई छ । केहि समय अघिसम्म कृषि पेशा गर्छु भन्न समेत लजाउनेहरु नगरपालिकाले कृषिलाई नै प्राथमिकतामा राखेर कार्यक्रम गर्दै कृषक सम्मान गर्न थालेपछि आफ्नो पेशाप्रति गर्व गर्न थालेका छन् ।









