2026 April 23/ 05:00: 07pm

    नाला/रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोगमा देवीटार आधारभूत विद्यालयमा ३ कोठे विद्यालय भवन निर्माणका लागि शिल्यान्यास गरिएको छ ।
    भवनको शिल्यान्यास बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले एक कार्यक्रमका विच गर्नु भएको छ । बादेले भवनको शिल्यान्यास गर्दै विकासमा सबै संघ संस्था, स्थानीयको सहयोग आवश्यक रहेको बताउनु भयो । नगरपालिका एक्लैले गर्न नसकिने हुदाँ विभिन्न संघ संस्थाहरुको साझेदारीमा विकासका कामहरु अगाडि बढाईने बादेले बताउनु भयो । नगरपालिकाको विकट मानिने उक्त विद्यालय तथा वडामा खानेपानिको आवश्यक रहेकोले नगरपालिकाले स्थानीयको मुहानलाई संरक्षण गरी खानेपानी उपलब्ध गराउने बताउनु भयो । विकासका काम चरणबद्ध रुपमा पुरा हुदै गएकाले स्थानीयको आवश्यकताको आधारमा गरिदै लगिएको बादेले बताउनु भयो । 
कार्यक्रममा बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख श्यामसिं धामीले उक्त विद्यालयमा लामो समय देखी दरबन्दी आवशयक भएकाले माघ महिना भित्र पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । त्यसैगरी रोटरी क्लब अफका पूर्व गर्भनर चिन्तामणी भट्टराईले क्लबले जिल्लाका विभिन्न ठाँउमा विद्यालयहरुलाई सहयोग गर्दै आएको बताउनु भयो । बनेपा नगरपालिकाको अति विकट ठाँउमा रहेको देवीटार आधारभुत विद्यालयमा करिब ७५ लाख लागतमा ३ कोठे विद्यालय भवन, लाईब्रेरी, विज्ञान ल्याब, सोलार, ४ कोठे अपाङ्गमैत्री शौचालय, पानी शुद्धिकरण उपकरण, खेलकुद सामाग्री, शिक्षकहरुलाई तालिम लगाएतका सामाग्रीहरु प्रदान गर्न लागिएको भट्टराईले बताउनु भयो । 
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, चेष्टा साप्ताहिकका सह–सम्पादक तथा नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मण तिमल्सिना, वडा सदस्य बुद्धिमान स्याङतान, रोटरी क्लबका अध्यक्ष सुशिल ब्यान्जु, पूर्व अध्यक्ष अशोक श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक प्रल्हाद दाहाल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा निमित्त प्रधानाध्यापक उजेली तामाङले स्वागत मन्तब्य राख्नु भएको थियो भने सभापतित्व विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष दोर्जे लामाले गर्नु भएको थियो ।