खोप लगाउने सबै सामान्य
धुलिखेल/कोरोना विरुद्धको पहिलो डोजको खोप सम्पन्न भएको छ । धुलिखेलमा अघिल्लो बुधबार पुष १४ गते शुरु भएको खोप अभियान ५ दिन संचालन गरी सम्पन्न भएको थियो भने मेथिन्कोटमा शुक्रबार शुरु भई मंगलबार सम्पन्न भएको थियो अब दोश्रो डोजको खोप दिईने छ ।
नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यता तथा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाको विशेष आथित्यतामा शुरु भएको थियो । मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामशरण श्रेष्ठले पहिलो खोप लगाएसँगै खोप अभियान सुरु गरिएको थियो । श्रेष्ठलाई मेथिनकोट अस्पतालमा कार्यरत सिअनमी कोशल्या न्यौपानेले पहिलो खोप लगाई दिएकी थिइन् । त्यसअघि प्रमुख जिल्ला अधिकारी पोखरेल र जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले नगर प्रमुख तिमल्सिना र डा. श्रेष्ठलाई खोप हस्तान्तरण गरेका थिए ।
मेथिनकोट अस्पतालबाट नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, सरसफाईकर्मी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई खोप लगाइनेछ । जसमध्ये नमोबुद्ध नगरपालिकाका स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक, सरसफाईकर्मी लगायत २ सय ३० जना, रोशी गाउँपालिकाका १ सय ५०, तेमाल गाउँपालिकाका १ सय १९ र महाभारत गाउँपालिकाका ९३ जना रहेका छन् । यसमा केही पालिकामा कार्यरत स्वास्थ्य क्षेत्रको सुरक्षामा संलग्न सुरक्षाकर्मी, सरसफाईकर्मी र एम्बुलेन्स चालकको संख्या थप हुने मेथिनकोट अस्पतालका हेल्थ असिस्टेन्ट शोभाकान्त आचार्यले जानकारी दिए । पहिलो चरणको खोप अभियान यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ । आज शुक्रबार दिउँसोसम्म ८० जनालाई खोप लगाइसकिएको आचार्यले बताए ।









