धुलिखेल/महाभारत गाउँपालिका वडा नम्वर ७ घर भई धुलिखेल नगरपालिका वडा नम्वर ५ श्रीखण्डपुरमा बस्दै आएका सन्तोष प्रधान पक्राउ परेका छन् । उनको बोलाउने नाम सन्तोष प्रधान भए पनि दोहोरो नागरिकता लिई कारोवार गरेको अभियोगमा प्रहरीले अनुसन्धानका लागि मंगलबार साँझ २०८२ साउन १३ गते पक्राउ गरेको हो ।
सन्तोषले बाबु खुनबहादुर श्रेष्ठ रहेको पहिलो नागरिकता २०६० पुष २४ गते धुलिखेलबाट लिएका थिए । नागरिकता नम्वर १२४५१८ रहेको उनको नाम सन्तदेव श्रेष्ठ थियो । दोश्रो नागरिकता २०६२ साल जेठ ५ गते बाबु खुनबहादुर श्रेष्ठ नै राखी १३८३८४ नम्वरबाट चुनराज श्रेष्ठका नामबाट लिएका थिए । दोश्रो नागरिकताबाट उनले विभिन्न वित्तिय संस्थाबाट करिव एक करोड भन्दा धेरै रकम ऋण लिएको अनुसन्धानबाट खुलेको छ । दुबै नागरिकता फरक फरक स्थानमा प्रयोग गर्दै आएका सन्तोषले २०८२ जेठ १ गते राति १० बजे टोल छिमेकमा खुकुरी प्रर्दशन गरी त्रसित बनाएका थिए ।
सार्वजनिक स्थलमा खुकुरी प्रर्दशन गरी त्रसित बनाएको भन्दै उनि विरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा परेको अभद्र ब्यवहारमा प्रहरीले सामान्य सोधपुक्ष समेत गर्न इन्कार गरेको पीडितहरुले बताएका थिए । उनले खुकुरी लिएर प्रर्दशन गरेको तस्विर र भिडियो प्रहरीलाई समेत उपलब्ध गराउँदा समेत उनि माथी सामान्य सोधपुक्ष समेत गरिएको थिएन । २०८२ असार १ गते जिल्ला प्रशासन कार्यालय काभ्रेले प्रहरीलाई एउटै ब्यक्तिले दुईवटा नागरिकता लिएको उजुरीका आधारमा प्रहरीलाई पक्राउका लागि पत्राचार गरेको थियो । सोहि आधारमा उनि पक्राउ परेका हुन् । उनी तरुण दलका नेता समेत छन् ।





