2026 April 28/ 11:20: 43pm

    धुलिखेल/बानेश्वरमा साईबर संचालन गर्दै आएका गोरखा जिल्ला सहिद लखन गाउँपालिका वडा नम्वर १ स्थायी घर भई काठमाडौ बानेश्वर बस्ने ४१ बर्षिय किरण अर्याललाई सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ परेका अर्याल र धुलिखेल १२ का ३८ बर्षिय जितेन्द्र तामाङ दुबैलाई मंगलबार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । अर्यालको पसलबाट प्रहरीले २६ वटा संघ संस्थाको छाप, ६८ हजार ७ सय नगद, विभिन्न मुलुकका १४ थान नोट, नागरिकता २ थान, पासपोर्ट तथा विभिन्न संघ संस्थाका पेन ड्राईभ ११ थान, कम्प्युटर सहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।  धुलिखेल १२ का स्थानीय जितेन्द्र तामाङ काठमाडौ बस्दै आएका थिए । उनले नाता प्रमाणीत गर्न वडा कार्यालय जाने तयारी गरिरहेका बेला साईबरवालाले वडा कार्यालयसम्म पुग्नु पर्दैन यहिबाट बनाई दिन्छु ७ सय ५० रुपैया दिनु भन्दै धुलिखेल नगरपालिका वडा नम्वर १२ शंखुपार्टिचौरको लेटरप्याड, छाप र अध्यक्ष मोहनप्रसाद लामिछानेको छाप सहितको दस्तखत तयार गरिदिएका थिए । 
    २०८२ साउन १२ गते जितेन्द त्यहि नाता प्रमाणीत लिएर वडा कार्यालयमा बहिनी लक्ष्मी तामाङको नागरिकता बनाउन सिफारिस लिन आएका थिए । त्यतिबेला वडा कार्यालयले नाता प्रमाणीत गरिएको कागजात वडा कार्यालयको नभएको बताए पछि उनले नै बानेश्वरमा रहेको उक्त सामईबारमा साईबरमा पैसा तिरेर बनाएको बयान दिएका थिए । उनकै बयानका आधारमा प्रहरीले बानेश्वरमा रहेको साईबरका संचालक अर्याल सहित विभिन्न प्रमाणहरु नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । जितेन्द्र सामान्य परिवारका ब्यक्ति हुन् । उनलाई साईबरमा बनाईदिने कागजात नक्कली हो भन्ने पनि जानकारी नभएको बयान दिएका छन् । नक्कली भएको थाहा पाएको भए नागरिकता बनाउने समयमा किन नाता प्रमाणीत गरिएको कागजात पेश गर्थे होला ? उनले प्रहरीलाई बयानमा भनेका छन् । 
    प्रहरीले धुलिखेल १२, ताराखोला गाउँपालिका बाग्लुङ, हेटौडा उपमहानगरपालिका ४, रत्ननगर १ चितवन, होटल मुडिया बौद्ध, मयुर, नेपाल विद्यार्थी संघ, जनमैत्री बहुमुखी क्याम्पस लगायत विभिन्न सरकारी ब्यक्ति, संघ संस्थाको छाप सहितको हस्ताक्षर किर्ते गरेको बताएको छ ।