2026 April 28/ 11:20: 37pm

    पनौती/देशको परिवर्तनका लागि आवाज उठाउनेहरू विस्मृत हुन सक्दैनन् । उनीहरूको सम्झनालाई कर्ममा बदल्न सक्नु नै सच्चा सम्मान हो । यही भावना बोकेर नेपाल निजामती कर्मचारी संगठन, काभ्रे शाखाले शहीद सप्ताह २०८२ को सन्दर्भमा बृद्धाश्रममा सहयोग गरेको छ । 
    शहीद मनोज जोशी, झपेन्द्र कार्की, सुरेन्द्र विश्वकर्मा तथा अन्य ज्ञात–अज्ञात आन्दोलनकारीहरूको बलिदानलाई स्मरण गर्दै संगठनले साउन १४ गते बुधबार पनौती नगरपालिका ९ मा अवस्थित श्री प्राणनाथ माइती वृद्धाश्रममा सहयोग सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा दाल, चामल, फलफूल, सरसफाई सामग्री लगायत दैनिक उपभोग्य वस्तुहरू वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई हस्तान्तरण गरिएको थियो । नेपाल निजामती कर्मचारी संगठन, काभ्रे जिल्ला कार्य समितिका अध्यक्ष गायत्रीरमण घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्मचारीहरूको उल्लेखनीय सहभागिता थियो । कार्यक्रम सञ्चालन संगठनकी केन्द्रिय प्रतिनिधि श्रीमती जानुका अधिकारीले गरिन् ।
    कार्यक्रममा स्थानीय तह कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष विदुर गौतमको विशिष्ट आतिथ्यता रहेको थियो । वृद्धाश्रमका वृद्धवृद्धासँग आत्मीयता साटासाट गर्दै यस्तो कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने विश्वास उनले व्यक्त गरे । नेपाल निजामती कर्मचारी संगठनले विगतदेखि नै कर्मचारी हकहितका सवालमा संघर्ष गर्दै आएको छ । यसक्रममा प्राणको आहुति दिने शहीदहरूको सम्झनामा प्रत्येक वर्ष शहीद सप्ताह मनाउने परम्परा स्थापना गरिएको छ । कार्यक्रममा निजामती कर्मचारी संगठन काभ्रेका सदस्यहरू, विभिन्न तहका कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा वृद्धाश्रमका कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो । कार्यक्रममा वृद्धाश्रमका प्रतिनिधिहरूले संगठनप्रति आभार प्रकट गर्दै वृद्धहरूको सेवामा यस्ता कार्यक्रम निरन्तरताका लागि सन्देश दिएका थिए ।