2026 April 28/ 11:20: 38pm

दोश्रो पटक गरिन लागेको आर्थिक गणनाको तिब्र तयारी गरिएको छ । सरकारले प्राथमिकताका साथ आर्थिक गणनालाई बजेट र नीति तथा कार्यक्रममा समेटेको छ । पाँच–पाँच वर्षमा आर्थिक गणना गर्ने तयारी गरिएको भए पनि पहिलो गणना पछिको ७ वर्षमा दोश्रो गणना हुन लागेको हो । आर्थिक वर्ष २०८२/२०८३ अर्थात २०८२ फागुन महिनामा दोश्रो गणना हुँदैछ । देशभर गरिने आर्थिक गणना, त्यसको पूर्व तयारी, समेटिने विषय तथा क्षेत्र र प्रश्नावली सहित त्यसको विश्वास र गोपनियताका बारेमा तथ्यांक विभाग, जिल्ला स्थित कार्यालयहरु र सरोकारवाला निकायले त्यसमा कार्य गरिरहेका छन् । हरेक गणना मुलुकको आर्थिक समृद्धीका लागि महत्वपूर्ण मानिन्छन् । राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा समेत मान्यता प्राप्त गणनाले मुलुकका आर्थिक सुचकहरुका सन्र्दभमा समेत सहयोगी भूमिका खेल्न सक्छन् । यसर्थ पनि मुलुकका लागि आर्थिक गणना महत्वपूर्ण छ र मानिन्छ । 
    एकातिर युवाहरुको पलायनता छ । अर्काेतिर मुलुकमा रेमिट्यान्सको मात्रै नभई उपभोग्य बस्तुहरु र विलासिताका सामानहरुको पर्याप्त आयात हुन थालेको छ । यस्तो अवस्थामा मुलुकलाई आर्थिक रुपले सम्पन्न बनाउन अर्थात नागरिकहरुलाई आर्थिक रुपले शशक्त बनाउन सरकारका नीति र कानूनहरु कसरी कामवायी बनाउन सकिन्छ ? प्रश्न उब्जन थालेको छ । स्थानीय स्तरमा आयआर्जनका कार्य गर्न सम्भव हुन छाडेको छ । सडक पुगेको छ । पुर्वाधार सम्पन्न हुँदैछ । तर पूर्वाधार सम्पन्न हुँदा उत्पादन हुन छाडेको छ । पशुपालन ग¥यो दुध र दुग्धजन्य बस्तु विक्री हुँदैन । विक्री भयो भुक्तानी हुँदैन । त्यसका लागि आवश्यक पर्ने सामाग्री खरिद गरिएको भुक्तानी गर्न समेत कृषकहरु असमर्थ हुन थालेका छन् । कृषि गर्न खोज्यो राज्यले ब्यवस्थापन गर्न कठिनाई परेको रासायनिक मलका समस्या हरेक वर्ष उस्तै छन् । बैकल्पिक खोजीमा न कृषक न सरकार । परनिर्भर र अर्बाै रकम विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि पनि अस्थिर राजनीतिक प्रणाली महत्वपूर्ण बन्दै आएको छ । 
    यसका बाबजुत पनि नागरिकहरुको सकारात्मक प्रयत्न र प्रयासका लागि गरिने कार्यक्रमहरु प्रभावकारी बन्न र बनाउन आवश्यक छ । आर्थिक गणनाले त्यसकै प्रतिनिधित्व गर्छ । २०७५ सालमा काभ्रेपलाञ्चोक जिल्लामा १४ हजार २ सय ८२ वटा प्रतिष्ठानमा गरिएको आर्थिक गणनामा ५४ हजार ५ सय ७५ जना ब्यक्तिहरु संलग्न थिए । जसमा पुरुष ३२ हजार ६ सय ५० र महिला २१ हजार ९ सय २५ जना थिए । पालिकागत रुपमा तथ्यांक सार्वजनिक गरिएको थियो । सबै भन्दा कम खानिखोलामा २ सय ४९ र सबै भन्दा धेरै बनेपामा ४ हजार ३ सय ५९ वटा प्रतिष्ठान रहेका थिए । त्यतिबेला स्थानीय सरकारको शुरुवात पनि हुँदै थियो । अहिले त्यसमा आमुल परिवर्तन भएको छ । स्थानीय सरकारका कारण नागरिकहरुको आयआर्जन र आयश्रोतमा बृद्धी भएको छ । त्यसका लागि पनि बास्तविक तथ्यांक र आधिकारिक तथ्यांक आउन आवश्यक छ । आर्थिक गणना र त्यसमा समावेश हुने प्रश्नावलीका बारेमा अहिले नागरिकहरुलाई बुझाउने कार्य भईरहेको छ । आर्थिक गणना, अन्र्तराष्ट्रिय अनुभवहरु, नेपालमा आर्थिक गणना, पहिलो आर्थिक गणना, राष्ट्रिय आर्थिक गणनाका उदेश्यहरु, आर्थिक गणना किन ? आर्थिक गणनाले समेटेका क्षेत्र, गणनाको एकाई, गणना विधी, राष्ट्रिय तथ्यांक संकलन विधि, आर्थिक गणनाको प्रश्नावली र आगामी तयारीका बारेमा नागरिकहरुलाई सुसुचित गर्न कन्जुस्याई गर्नु हुँदैन । फागुन महिना अगावै नागरिकहरुका जिज्ञासा सम्बोधन गर्ने गरी तथ्यांकसँग सम्वन्धित कार्यालयहरुले त्यसको ब्यवस्थापन गर्नु आवश्यक छ । मुलुकको समृद्धीका लागि आर्थिक गणना महत्वपूर्ण क्षेत्र भएकाले यसको सफलताका लागि सबै क्षेत्रको उत्तिक्कै सक्रियता, जवाफदेहिता र जिम्मेवारीबोध आवश्यक छ ।