बनेपा/बनेपा नगरपालिका –११ मा पुण्यश्वर जीवनयोग प्रयोगशालाको उद्घाटन भएको छ । दुई महिना अघिदेखि संचालनमा आएको प्रयोगशालाको जीवन विज्ञान काभ्रे परिषदकी संयोजक मिरा पौडेलद्वारा उद्घाटन गरिएको हो । यो सँगै बनेपा नगरपालिकामा ७ वटा जीवनयोग प्रयोगशाला पुगेको छ । पनौती नगरपालिकामा ३ वटा, अनलाईनमा एक, बेथानचोक गाउँपालिकामा एक र नमोबुद्ध नगरपालिकामा एक ठाउँमा गरी काभ्रे जिल्लामा १३ वटा जीवनयोग प्रयोगशाला संचलानमा रहेको जीवन विज्ञान काभ्रे परिषद्का सदस्य सरु ढकालले जानकारी दिइन् ।
पुण्यश्वर जीवनयोग प्रयोगशालाको उद्घाटन गर्दै जीवन विज्ञान काभ्रे परिषद्की संयोजक पौडेलले जीवनयोग प्रयोगशाला मार्फत आफु भित्रको खुशी खोज्न सकिने बताइन् । असल अनुभव लिई सामाजिक व्यवहार कायम गर्न सकिने भन्दै शरीर र मनलाई स्वस्थ राख्न योग र ध्यानमा जोडिन सबैलाई आग्रह गरिन् । जीवन विज्ञानकी प्रशिक्षक रुपा लुइटेलले कार्यक्रममा स्वागत मन्तव्य राख्दै यस्ता जीवन प्रयोगशालामा दैनिक ध्यान, योग र अध्यात्म मार्फत मानविय जीवनलाई परिवर्तन एवं आध्यात्मिक सुख प्रदान गर्ने कार्य गरिने बताइन् ।
त्यसैअवसरमा पुण्यश्वर जीवनयोग प्रयोगशालाका व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद थपलियाले यो प्रयोगशालामा बढि भन्दा बढि सहभागी भएर योग ध्यानबाट लाभान्वित हुन आग्रह गरे । कार्यक्रममा जीवन विज्ञान बनेपा नगर संयोजक अनिता पाठक, जीवन विज्ञानका प्रशिक्षकहरु दिनेश लुइटेल, विष्णुदेवी कायस्थ, मेघराज श्रेष्ठ, रमेश पौडेल,सविना श्रेष्ठ र ईश्वरी हुमागाईको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जीवन विज्ञान काभ्रे परिषद्का सदस्य सरु ढकालले गरेकी थिइन् ।





