2026 April 28/ 11:20: 43pm

धुलिखेल/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा प्रकाशित हुँदै आएको मानवअधिकार वर्ष पुस्तक २०२६ को अर्ध वार्षिक पूर्व समिक्षा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले जनजाति समुदायबाट हिंसाका घटना बढी आउनुमा शिक्षाको अवस्था कमजोर भएको बताए । 
    मानव अधिकार सञ्जाल काभ्रेका संयोजक भोजराज तिमल्सिनाले जिल्लामा महिला र बालवालिकाको सवाल मानव अधिकारका मुख्य सवालका रुपमा रहेको उल्लेख गर्दै समाजमा जातिय विभेद, बालविवाह, बलात्कार, हिंसा र दुव्र्यवहारका घटना बढ्दो रहेको उल्लेख गरे । सन् २०२५ को ६ महिनामा मानवअधिकार उल्लंघनका ६० र घरेलु हिंसाका ५३ ओटा गरी १ सय १३ ओटा घटना इन्सेकमा अभिलेख भएको उनले जानकारी दिए । यस अवधीमा जर्वजस्ती करणीका १६, बालविवाह, बहुविवाह, जातिय विभेद र एसिड प्रहारका १÷१, ज्यानमार्ने उद्योगका ११, अभद्र व्यवहारका २८, कर्तव्य ज्यान सम्वन्धी ३, कुटपिट र अंगभंगका ३, आपराधिक उपद्र्धवका ३, जर्वजस्ती करणी उद्योगका ११ घटनाहरू सार्वजनिक जानकारीमा आएका छन् ।
द्वन्द्वपीडित पूर्णिमाया लामाले आफ्नो पति अर्जुन लामालाई हत्या गरेको यत्रो समय बित्दा पनि न्याय नपाएको उल्लेख गरिन् । सर्बोच्च अदालतले घटनाको अनुसन्धान गर भन्दा पनि कर्तव्य ज्यान मुद्धामा अनुसन्धान नै नगर्ने, अदालतले पूर्ण पाठ नै नदिने कुरा राम्रो नभएको उल्लेख गर्दै अझै न्यायको आश नमरेको बताइन । द्वन्द्वपीडित मनकुमारी रञ्जितले शान्ति प्रक्रियामा समेत पीडितहरूको बेवास्ता गरिएको उल्लेख गर्दै मानवअधिकार रक्षकहरूले द्वन्द्वपीडितको घरमा पुगेर उनीहरूको अवस्थाका विषयमा अध्ययन गर्न जोड दिईन् । जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका सेवा केन्द्रकी रंजिता कार्कीले हिंसापीडित महिलाहरूलाई न्याय दिनका लागि संघसंस्थाहरूले सहयोगी भूमिका निभाउनुपर्ने उल्लेख गरिन । माइती नेपाल काभ्रेकी कोअर्डिनेटर गायत्री गौतमले अहिले ग्रामिणस्तरमा सचेतनाका कार्यक्रम आवश्यक भएको बताइन ।
    महिला अधिकारकर्मी कल्पना विश्वकर्माले महिलाहरूले सहज ढंगबाट नागरिकता प्राप्त गर्न नसकेका कारण हिंसामा परेको उल्लेख गरिन । अधिकारकर्मी निर्मला काफ्लेले हिंसापीडित महिलालाई सुरक्षित गृहमा राखेर मात्र नहुने उल्लेख गर्दै महिलाका मानव अधिकारका सवाल घटना संख्याको आधारमा मात्र विश्लेषण गर्न नहुने बताइन ।