2026 April 28/ 09:58: 03pm

         धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्बर ४ मा सुत्केरीलाई घिउ र अण्डा उपहार दिइएको छ । 
        नयाँ बच्चाको स्वागत स्वरुप आधी लिटर घिउ र एक क्रेट अण्डा उपहार दिइएको हो । बखुण्डोल आधारभुत स्वास्थ्य केन्द्रमा वडाका १९ जना सुत्केरीलाई अण्डा र घिउ वितरण गरिएको छ । वडा कार्यालयले हरेक वर्ष वर्षमा दुई पटक सुत्केरीलाई पोषण वितरण गर्दै आइरहेको छ ।        कार्यक्रममा वडा अध्यक्ष उत्तम तिमल्सिनाले मातृत्व महिला स्वयं र परिवारका लागि महत्वपूर्ण चरण भएकाले यो समयमा ख्याल गर्नुपर्ने विषय भएकाले अभिमुखिकरण सहित पोषण सामाग्री हस्तान्तरण गरिएको बताए । सुत्केरी अवस्थामा पोषणमा ध्यान नदिँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्ने उनले बताए । अण्डा र घिउ वितरण जनचेतना जगाउने अभियान भएको समेत उनले बताएका छन् । 
            कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले सुत्केरी अवस्थामा पोषणको महत्वबारे जानकारी गराएका थिए । महिलाको जीवन रक्षा, शिशुको भविष्य र समग्र स्वास्थ्य सुधारका लागि पोषण जरुरी रहेको उनको भनाई छ । स्वास्थ्य केन्द्र इन्चार्ज हेमा संग्रौलाले सुत्केरी अवस्था युद्धमा गएको सिपाही जस्तै भएको बताइन् । महत्वपूर्ण चरण पुरा गरेको खुसीमा नयाँ बच्चालाई स्वागत स्वरुप सुत्केरीलाई अण्डा र घिउ वितरण गरिएको उनको भनाई छ । कार्यक्रममा  वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीकालाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगद सहित सम्मान गरिएको छ । महिला स्वास्थ्य स्वयंसेवीका सुनिता थापा, मन दाहाल, र मुना अधिकारीलाई सम्मान गरिएको थियो । 
          कार्यक्रममा स्वास्थ्य शाखाका सह–संयोजक सरोज थापा, वडा सदस्य गोवर्धन मगर, वडा प्राविधिक लगायत स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन अहेव श्वेता श्रेष्ठले गरेकी थिइन् ।