बनेपा/सामाजिक विकास रूपान्तरण स्वत्रान नेपाल र मेट लाइफ इन्सुरेन्सले समाजमा बढ्दो दुर्घटना, नसर्ने रोग, बेरोजगारी, व्यापार घाटा तथा कृषि उद्यममा बढ्दो जोखिमका सन्दर्भमा जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । अभियान अन्तर्गत पनौती नगरपालिको कुशाादेवी, बनेपा नगरपालिका अरनिको सभा भवन, सूर्यविनायक नगरपालिको सिपाडोल, र भक्तपुर नगरपालिको शारदा माविमा अन्तर क्रिया कार्यक्रम तथा जनचेतना अभियानहरू सञ्चालन गरेको छ । कार्यक्रमहरूमा स्थानीय सामाजिक संस्थाहरु पातिखोरिया कृषि सहकारी, रोटरी सामुदायिक कुशादेवी, पिपलचौर क्रिएटिभ सहकारी, लियो क्लब भक्तपुर, फार्मा सिस्ट नेपाल, नेपाल हृदय रोग निवारण प्रतिष्ठान र शारदा माविको सहकार्य रहेको थियो । अभियानमा २ सय २६ जना स्थानीय समुदाय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रम सञ्चालन स्वत्रान नेपालका महासचिव नकुल गौतमले गरेका थिए । कार्यक्रमका प्रमुख वक्ताहरूमा बीमा विज्ञ जितेन शाक्य, बसन्त लिम्बु, भुवन राउत, हृदय रोग विशेषज्ञ डा. सत्यनारायण सुवाल र राजु राज मुनाकर्मी रहेका थिए । स्वत्रान नेपालका अध्यक्ष अशोक श्रेष्ठले समाजमा बढ्दो निराशा र अन्योलको अवस्था बीच सकारात्मक सोच र चेतनाको आवश्यकता रहेको बताए । श्रेष्ठले रोग लाग्न नदिन पूर्व तयारी तथा लागे पछि आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा जस्ता विकल्पहरूको उपयोग गर्न आग्रह गरेका थिए । स्वत्रान नेपालले आगामी दिनहरूमा समेत सामुदायिक जनचेतना कार्यक्रमहरू विभिन्न संघसंस्थासँग सहकार्य गर्दै निरन्तर सञ्चालन गर्ने जानकारी दिएको छ ।





