बनेपा/नेपाल योग खेलकुद संघ जिल्ला कार्यसमिति, पतञ्जली योग समिती नेपाल वागमती प्रदेश र पतंजलि योग समिति काभ्रेको संयुक्त आयोजनामा ११ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रथम खुल्ला योग आसन प्रतियोगिताको आयोजना गरेको छ ।
प्रतियोगिताको उद्घाटन वागमती प्रदेश सांसद् कन्चनचन्द्र वादेले गरेका थिए । वादेले वागमती प्रदेश सरकाले समेत योगलाई विशेष प्राथमिकतामा राखी कार्यक्रम ल्याएको बताए । योगले मानिसलाई शरीर, मन र प्रकृतिमाझ सन्तुलन ल्याउने र तनाव व्यवस्थापनमा मद्दत गर्दछ, जुन अहिलेको व्यस्त जीवनशैलीका लागि अत्यावश्यक मानिन्छ । थुप्रै अनुसन्धानहरूले योगले उच्च रक्तचाप, श्वास–प्रश्वास रोग, मधुमेह, निद्रा समस्या, डिप्रेसन र मोटोपनमा लाभदायी हुने देखाएकाले योग अनिवार्य रहेको वादेले बताए । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ्ग, नेपाल योग खेलकुद संघका केन्द्रीय अध्यक्ष डा. सुर्य बहादुर कार्की, पतंजली योग समिति नेपाल बागमती प्रदेशका अध्यक्ष ग्रुबेन तौजले, जिल्ला अध्यक्ष प्रकाश कायस्थ लगायतको सहभागिता रहेको थियो । योग दिवसका अवसरमा बनेपाको स्मार्ट पार्टी प्यालेसमा विभिन्न रोग सम्बन्धि शिविर असार ४, ५ र ६ गते संचालन हुनेछ ।
वागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेको प्रमुख प्रशिक्षणमा संचालन हुने उक्त शिविरमा जिल्लाभरिका २ सय भन्दा बढी योग शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षण दिईने छ । खेलकूद योग आसन प्रतियोगितामा ९ वर्ष देखि १२ वर्षसम्म, १३ वर्ष देखि १८ वर्षसम्म, १९ वर्ष देखि २५ वर्षसम्म, २६ वर्ष देखि ३५ वर्षसम्म, ३६ वर्ष देखि ५० वर्षसम्म र ५१ वर्ष देखि माथिका उमेर गरि ६ समुुह बिच अन्तर योग आसन प्रतियोगिता हुने भएको छ । यसका साथै जिल्लामा रहेका ४३ वटा योग सेन्टर केन्द्रमा विभिन्न कार्यक्रमहरु आयोजना गरिने सञ्चार प्रभारी मिलनभक्त श्रेष्ठले जानकारी दिएका छन् । कार्यक्रम नेपाल योग खेलकुद संघ जिल्ला कार्यसमिति काभ्रेका अध्यक्ष राजन अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।





