धुलिखेल/धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएको छ । नगरपालिकाका १२ वटै वडा पूर्णखोप घोषणा भएपछि नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला खोप समन्वय समिति काभ्रेका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, पालिकास्तरीय खोप समन्वय समिति अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, सदस्य सचिव एवं जनस्वास्थ्य कार्यालय काभ्रे प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, खोप अधिकृत पार्थमणी न्यौपाने, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै समन्वय समिति प्रमुख गौतमले धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताए । स्वास्थ्य क्षेत्रमा धुलिखेल नगरपालिकाले गरेको प्रगतिले नेपालकै शीर ठाडो हुने गरेको उनले बताए । नागरिकलाई स्वस्थ राख्न सकिएन भने अरु विकासको अर्थ नहुने उनको भनाई थियो । विश्व स्वास्थ्य संगठनले एसियामा दोस्रो र नेपालकै पहिलो स्वस्थ शहरका रुपमा धुलिखेल नगरपालिकालाई घोषणा गरेको भन्दै उनले प्रसंसा गरेका छन् । कोरोना संक्रमणकालमा खोपको पर्खाइको छट्पटिले खोपको महत्व झनै बढाएको उनले बताए । नगर प्रमुख ब्याञ्जुले खोपकै कारण मानिसको बाँच्न पाउने अधिकार सुनिश्चित गरेको, आयु लम्बिएको, रोग प्रतिरोधात्मक क्षमता बढेको बताए । नगरपालिकाले सुरु गरेको स्वस्थ शहर कार्यक्रम अभियानको रुपमा अघि बढेको भन्दै उनले खुसी व्यक्त गरेका छन् । बागमती प्रदेशका १३ वटा पालिकालाई स्वस्थ शहर बनाउने अभियान प्रारम्भ भएको पनि उनले बताए । जनस्वास्थ्य कार्याललय काभ्रे प्रमुख श्रेष्ठले दिगोपनाका लागि ध्यान दिन अनुरोध गरिन् ।
खोप अधिकृत न्यौपानेले खोप कार्यक्रममा राज्यको ठुलो लगानी रहेको बताए । उनका अनुसार पूर्णखोप सुनिश्चितताका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ खर्च हुने गरेको छ । १५ महिनामा ७ पटक स्वास्थ्यकर्मीसँग भेट्नुपर्नेछ । उनले अब खोपको गुणस्तरीयतातर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले वडादेखि वस्तीस्तरसम्म पुगेर ४ सय २८ अर्थात १ सय ३४ प्रतिशत बालबालिकालाई खोप लगाइएको जानकारी दिए । २५ वटा नियमित खोप केन्द्र र ५ खोप सेसन मार्फत खोप अभियान सञ्चालन भएको थियो । २०७२ मा धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको थियो । त्यसपछि हरेक वर्ष पूणृखोप सुनिश्चित तथा दिगोपनाका कार्यक्रम सञ्चालन भइरहेको छ । सबै खोपमा शतप्रतिशत भन्दा माथी प्रगती भएको शाखा प्रमुख केसीले जानकारी दिए । कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका अधिकृत शरद चन्द्र थापाले गरेका थिए । २०७२ मा काभ्रे जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको थियो । त्यसपछि पालिकाहरुले हरेक वर्ष सुनिश्चित तथा दिगोपनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् । चालु आर्थिक वर्षमा हालसम्म ९ वटा पािलका पूर्णखोप सुनिश्चित भएका छन् । चौंरीदेउराली, खानीखोला, बेथानचोक र रोशी गाउँपालिका पूर्णखोप सुनिश्चितको अन्तिम तयारीमा रहेका छन् ।





