धुलिखेल/धुलिखेल नगरपालिकाले जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारी छुवाछुत विरुद्ध अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । धुलिखेल नगरपालिका भित्र बसोबास गरिरहेका दलित समुदायहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा सकारात्मक सोच तथा भेदभाव र छुवाछुत बिरुद्धको अभियानमा सक्रिय रहन गरिएका प्रयास, कानूनी ब्यवस्था तथा अवस्थाका बारेमा चर्चा गरिएको थियो ।
धुलिखेल नगरपालिकालाई छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने गरी आयोजना गरिएका विभिन्न कार्यक्रमहरु प्रभावकारी रहेको सहभागिहरुले बताए । नगरपालिकाले गठन गरेको दलित परिषद मार्फत दलित समुदायका हक अधिकार स्थापित गर्न, पेशालाई प्रविधिसँग जोड्दै सीपलाई प्रभावकारी बनाउन तथा अन्य क्षेत्रमा भएका प्रयासका बारेमा जानकारी गराउँदै नगर प्रमुख अशोक ब्याञ्जुले छुवाछुत मुक्त पालिकाका लागि गर्नुपर्ने अन्य कार्यहरु पनि भईरहेको बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, लैङ्गिक विकास तथा समाज कल्याण शाखा प्रमुख अधिकृत पुजा काफ्ले, सोहि शाखामा कार्यरत संगिता भण्डारी लगायतले कार्यक्रमको उद्देश्य तथा कार्यक्रम माथी प्रकाश पार्दै धुलिखेल नगरपालिकाले गरिरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय सकारात्मक सोचका प्रशिक्षक रमण भट्टराईले सकारात्मक सोच सम्वन्धी विषयमा जानकारी गराएका थिए भने शुशिल विकले दलित समुदायका बारेमा भएका कानूनी ब्यवस्था र पछिल्लो अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागिहरुले दलित समुदायले भोगिरहेका विषयका बारेमा अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा अन्य जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।





