बनेपा/मण्डनदेउपुर नगरपालिका हाल बनेपा ७ निवासी मुक्तिनाथ पौडेलले आफ्नो ८२ औं जन्मदिन असहाय र सडक जीवन बिताएका नागरिकको घरमा पुगेर मनाएका छन् ।
पौडेलले आफ्ना छोरा बुहारी नाती सहित धुलिखेल १२ मा रहेको मानव कल्याण सेवा घरमा पुगेर जन्मदिन मनाएका हुन् । पौडेलले विगत केहि वर्ष अघि देखी आफ्नो जन्मदिनको दिनमा विभिन्न ठाँउमा गएर सहयोग गर्दै आएको बताए । समाजसेवी व्यवसायी छोरा शम्भुप्रसाद पौडेल, बुहारी भवानी पौडेल, नाती प्रमोद पौडेल, केशवराज पौडेल र संचारकर्मी लक्ष्मण तिमल्सिनाको उपस्थितिमा सेवा घरमा उनको जन्मदिन मनाइएको छ । सेवा घरमा रहेका आमाबुबाहरुको लागि चामल ५ बोरा, चना १ बोरा, दाल १ बोरा, तेल १ बाक्सा, मैदा १० केजि, चिनी १० केजि, जीरा १ केजि, बेसार १ केजी, नुन १० प्याकेट र साबुन १ दर्जन हस्तान्तरण गरेका छन् । पौडेलका छोरा शम्भुप्रसाद पौडेलले बुबाको ईच्छा अनुसार आफुले जन्म दिन मनाईदिने र यसरी सहयोग गर्न पाउँदा हर्षित भएको बताए । उनले आफुले सकेको सहयोग गर्दा धेरै राहत हुने र सबैजनाले आफ्नो जन्मदिन बाहिर भन्दा यस्ता ठाँउहरुमा मनाउन सुझाव समेत दिए । सुमी मानवीले आफ्नो सेवाघरमा यसरी छोरा बुहारी, नातीसँगै आएर सेवा गर्ने क्रम बिरलै हुने गरेको बताइन् । तर यस्तो संयोग कम मात्रै पाउने भएकाले जेष्ठ नागरिक मुक्तीनाथ पौडेलले समाजमा उदाहरणीय हुनुभएको भन्दै प्रशंसा गरेकी छन् ।





