2026 April 28/ 09:58: 40pm

पनौती/सशस्त्र प्रहरी बल नेपाल नम्वर १५ गण हेडक्वाटर काभ्रेले पनौती नगरपालिकाको सहकार्यमा नगर भित्रका १२ वडाका ४० जनालाई विपद् स्वयसेवक आधारभुत तालिम र विपद् सुचक सम्बन्धी अभ्यास गराएको छ । 
    तालिमको शुभारम्भ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले हरेक नागरिक विपदसँग परिचित हुनु पर्ने बताए । विपद पछिका अवस्था, विपद आउनु अघिको अवस्थाको सचेतनाका साथै विपदले पु¥याउने असर न्यूनिकरण गर्न तत्काल खोज, उद्धार र राहतसँगै समन्वयात्मक भूमिकाका लागि स्वंसेवक अत्यावश्यक हुने बताए । तत्कालै प्रहरी र सेना पुग्न नसक्ने स्थानमा स्थानीय स्तरमा वडामा रहेका स्वंयसेवकहरुले विपद् पछिको अवस्थामा समन्वयात्मक भूमिकाको कार्य गर्न सक्ने उनले बताए । 
    उपप्रमुख गिता बञ्जारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा असोज १०–१२ पछिको विपद्ले सिकाएको पाठ, भुकम्प तथा चट्याङ्ग र बैशाखमा परेको केहि क्षणको पानीका कारण पु¥याएको क्षति पछिको अवस्थाका बारेमा जानकारी गराएकी थिईन् । कार्यक्रममा सशस्त्र प्रहरी बल पाँचखालका प्रमुख एसपी प्रेम प्रसाईले तालिमका बारेमा जानकारी गराउँदै यसले विपद पछिको अवस्थालाई पुग्ने सहजताका बारेमा जानकारी गराएका थिए । तीन दिनसम्म चल्ने तालिममा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको प्राविधिक सहयोग रहेको छ । 
    सशस्त्र प्रहरी काभ्रेले जिल्लाका १३ वटै पालिकामा स्वंसेवक सम्वन्धि तालिम प्रदान गर्ने तयारी गरेको एसपी प्रसाईले जानकारी दिए ।