धुलिखेल/कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र वागवानी विकास केन्द्रको संयुक्त आयोजनामा चालु वर्ष २०८१/०८२ को तेश्रो त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित योजना सम्वन्धी अन्र्तक्रिया धुलिखेलमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित १३ वटै पालिकाका जनप्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पालिका स्तरमा कार्यरत कृषि तथा पशु सेवा शाखाका कर्मचारीहरु र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कृषि क्षेत्रमा भएका प्रमुख कार्यहरु कृषि विकास तथा ब्यवसाय प्रर्वद्धन, कृषि प्रसार तथा प्रविधि विस्तार र कृषि उद्यमशिलता विकास कार्यक्रमका बारेमा कार्यालय प्रमुख कुलप्रसाद दवाडीले जानकारी गराएका थिए । पालिकास्तरमा भएका कार्यक्रमहरु, त्यसको लागत तथा कार्यान्वनको अवस्था र आगामी योजनाका बारेमा दवाडीले जानकारी गराएका थिए ।
कृषि विकास कार्यालय काभ्रेले आर्थिक वर्ष २०७८/०७९ मा ४२७ वटा, आर्थिक वर्ष २०८०/०८१ मा १०१४ वटा र आर्थिक वर्ष २०८१/०८२ मा ७५९ वटा योजना कार्यान्वन गरेको छ । आयोजना मध्ये सबै भन्दा धेरै पाँचखाल नगरपालिकामा सम्झौता भएका छन् । राजधानी उपत्यकामा जिल्लाबाट २० प्रतिशत तरकारी निर्यात गर्दै आएको मध्ये पाँचखाल अग्रपंक्तिमा पर्ने गरेको छ । कार्यालय प्रमुख दवाडीका अनुसार कार्यविधी, बजेट र कार्यक्रमको तालमेल नमिलेका कारण प्रगति भनेजस्तो देखिन कठिन हुने बताए ।
समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम, साना सिंचाई कार्यक्रम, ब्यवसायीक तरकारी खेती प्रवृद्धन कार्यक्रम, मसिना धानबाली प्रर्वद्धन कार्यक्रम, चैते धानबाली प्रर्वद्धन कार्यक्रम, खाद्यान्न बाली प्रर्वद्धन कार्यक्रम, लसुन प्यास प्रर्वद्धन कार्यक्रम, मौरी प्रर्वद्धन, संरक्षित संरचनामा गोलभेडा खेती प्रर्वद्धन, मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम, कृषि उद्यमशिलता विकास, यान्त्रीकरण तथा प्रविधि प्रर्वद्धन सहयोग कार्यक्रम, कफि प्रर्वद्धन कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वन भएको कार्यालय प्रमुख दवाडीले जानकारी दिए ।
कृषकहरुका लागि नविनतम प्रविधि प्रसार सम्वन्धी तालिम, कृषि प्राविधिकहरुका लागि नवप्रर्वतन सम्वन्धि तालिम, आलु, गहुँ तथा गोलभेडा कृषक पाठशालाहरु संचालन, बजार अनुगमन, बीउ विजन ब्यवसाय र विषादी ब्यवसायका लागि सहजिकरण, कृषिसँग सम्वन्धित विभिन्न सचेतनामुलक तालिम, अन्र्तक्रिया तथा छलफलहरु भएको कार्यालय प्रमुख दवाडीले जानकारी दिए ।
आगामी आर्थिक वर्षका लागि कफि खेति, युवा लक्षित कार्यक्रम, साना सिंचाई, कृषिका लागि नविनतम प्रविधि, संरक्षित संरचनामा तरकारी खेति, कृषि बजार तथा पूर्वाधार विकास, कृषि ऋणको सहज उपलब्धता सुनिश्चित, जैविक विविधता संरक्षण, च्याउ खेती, रैथाने बाली सम्वन्धी कार्यक्रम प्रस्ताव गरिएको छ । खाद्यान्न बाली उत्पादन तथा विज वृद्धि, माटो ब्यवस्थापन तथा माटो सुधार कार्यक्रम, बाली संरक्षण सहयोग कार्यक्रम, नविनतम प्रविधि एवं नवप्रर्वतन कार्यक्रम, सहकारीमा आधारिता साना सिंचाई कार्यक्रम, तथ्यांक ब्यवस्थापन, सहयोग तथा समन्वय कार्यक्रम प्रस्ताव गरिएको छ ।
अपर्याप्त जनशक्ति, सूचना प्रविधि सम्बन्धि उपयुक्त पुर्वाधार विकास, साना कृषकहरुको आवश्यकतामा आधारिता कृषि प्रसार एवं विकास, विभिन्न तहका सरोकारवाला निकायहरु बीच प्रभावकारी तथा कार्यमुलक सम्वन्धको विकास, कृषकहरुको साक्षरता दरमा अभिबृद्धि, कृषि प्रसार विकासमा पर्याप्त बजेट विनियोजन तथा लगानी र मागमा आधारितको तुलनामा आपुर्तिमा आधारित कृषि कार्यक्रमको बाहुल्यता चुनौती रहेको दवाडीले बताए ।





