2026 April 28/ 09:58: 37pm

    बनेपा/कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई काभ्रेपलाञ्चोक जिल्लामा रासायनिक मलको चरम अभाव समाधान गर्न ज्ञापनपत्र बुझाईएको छ । जिल्ला देखि मन्त्रालय नै पुगेर मल अभाव पछिका समस्या र अवस्थाका बारेमा ध्यानाकर्षण गराईएको अगुवा जिएन सापकोटाले बताए । काभ्रेली कृषकहरुको तर्फबाट कृषि मन्त्री रामनाथ अधिकारीलाई बुझाईएको ज्ञापनपत्रमा कृषकहरुले मल नपाएर धेरै किसानहरूले समयमा रोपाइँ र मलजल गर्न समस्या भएको, बाली उत्पादनमा प्रत्यक्ष असर परिरहेको र जसका कारण खाद्य सुरक्षालाई समेत चुनौती दिएको, सरकारले समयमै मल आपूर्ति गर्न नसक्दा कृषकहरूको मनोबल कमजोर भएको, खेतीपातीमा व्यस्त हुनुपर्ने समयमा मलको खोजीमा हिँड्नुपर्दा समय र परिश्रम त्यसै खेर गएको लगायतका समस्या सुनाएका थिए । 
    कृषकहरुले काभ्रेपलाञ्चोक जिल्लामा तत्काल रासायनिक मल उपलब्ध गराउन, मल वितरण प्रक्रिया छरितो, पारदर्शी र किसानमैत्री बनाउन, आगामी वर्षहरूमा मल अभाव नहोस् भन्नका लागि दीर्घकालीन नीति तथा योजना निर्माण गर्न माग गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लाका कृषकहरू, कृषि नै प्रमुख पेशा तथा आयस्रोत रहेको यस जिल्लामा हाल देखिएको रासायनिक मलको अभावप्रति गम्भीर ध्यानाकर्षण गराएको बताएका छन् । काठमाडौँ उपत्यकामा ताजा तथा सफा तरकारी आपूर्ति गर्ने मुख्य जिल्लामध्ये काभ्रे एक हो । जिल्लामा भएको उत्पादनले उपत्यकाको खाद्य सुरक्षामा समेत भूमिका खेलिरहेको छ । कृषकहरूको पीडालाई प्राथमिकतामा राख्दै प्रभावकारी रूपमा कदम चाल्न कृषकहरुले माग गरेका छन् । ज्ञापनपत्र बुझाउन विभिन्न क्षेत्रका अगुवा अभियान्ताहरु सहभागी भएका थिए । ज्ञापन पत्र बुझाउन काभ्रेबाट जिएन सापकोटा, अन्जना तिमल्सिना, सुरज मकै श्रेष्ठ, पुरुषोत्तम घिमिरे, गोबर्धन थापा, रमेश घिमिरे, गोविन्द रायमाझी, साधुराम रायमाझी, मुकेश थापा लगायत मन्त्रालय पुगेका थिए ।