2026 April 28/ 09:58: 05pm

खानीखोला/नेकपा एमाले खानीखोला गाउँपालिका कमिटीको नर्याँ नेतृत्वका लागि भएको निर्वाचनबाट मानबहादुर गोले निर्वाचित भएका छन् । गोलेले जयबहादुर लुङ्गेली मगरलाई ७५ का विरुद्ध ७८ मत ल्याएर पराजित गरेका थिए । 
    उपाध्यक्षमा बुद्धिबहादुर थिङ निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै सचिवमा सुमन थोकर ८१ मत ल्याएर विजयी भए । उनले दुर्गाप्रसाद तिमल्सिनालाई पराजित गरेका थिए । उनले ६८ मत प्राप्त गरेका थिए । त्यस्तै उप–सचिव खुल्लातर्फ विनोद गोले ७७ मत ल्याएर विजयी भएका छन् । पद्यकुमारी तिमल्सिनाले ७० मत ल्याईन् । उप–सचिव महिलातर्फ अन्जिता थापा निर्विरोध निर्वाचित भईन् । सदस्य भुगोलतर्फ २८ जना, समावेशी दलित २ जना, अल्पसंख्यक सीमान्तकृत २ जना, खुल्लाबाट ४ जना आवश्यक भएकोमा दुई जना, महिला १, युवा १ र लेखा समिति ५ जना निर्विरोध भएका छन् । लेखा समितिमा राजेश थोकरको अध्यक्षतामा सचिव इन्द्रजित थिङ रहेका छन् । 
    बैशाख ११ गते अधिबेशनको उद्घाटन पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले उद्घाटन गरेका थिए । यो पालिकासँगै एमाले काभ्रेले १३ वटै पालिकाको अधिवेशन सम्पन्न गरेको छ भने ६० वटा भन्दा धेरै वडा कमिटी र त्यतिकै संख्यामा टोल कमिटीको अधिबेशन सम्पन्न गरेको छ । जनवर्गीय संगठनहरु मध्ये डेढ दर्जनको अधिवेशन सम्पन्न गरिसकेको छ । यतिखेर एमाले काभ्रे संगठित सदस्य नवीकरण अभियानमा केन्द्रित भएको छ । १३ वटा कमिटी मध्ये मण्डनदेउपुर, बेथान्चोक, बनेपा, पनौती, खानीखोला लगायतमा निर्वाचन भएको थियो ।