2026 April 28/ 08:33: 13pm

    धुलिखेल/धुलिखेल नगरपालिकाको लैङ्गिक विकास तथा समाज कल्याण शाखाले जेष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ । 
    नगर प्रमुख अशोक ब्याञ्जुले नयाँ पुस्ताले प्रविधिसँगै विसँदै गएको सीपलाई पुरानो पुस्ताले हस्तान्तरण गराउने गरी हरेक वर्ष यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । घर दैलोमा निःशुल्क पाईने सामाग्रीको उपयोग गरेर आय आर्जन समेत गर्न सकिने भएकाले नगरपालिकाले अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिएको बताए । 
    प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनीले सीप हस्तान्तरणले आगामी पुस्तालाई विगत र आफ्नै लागि आय आर्जन गर्न सकिने कार्यहरुका बारेमा जानकारी हुने बताए । धुलिखेल नगरपालिकाले हरेक वर्ष फरक–फरक तर हरेक दिन भान्सामा, तथा दैनिक जीवनमा आवश्यक हुने सीपलाई प्राथमिकता दिएर हस्तान्तरण गराउँदै आएको छ । टपरी, दुना, खोस्टाको चकटी, परालको डोरी सँगै गुन्द्री र सुकुल, बाटेको धुप, डोको लगायताका सामाग्रीहरु स्थानीय उत्पादनबाट बनाउन सकिने गरी सिकाईएको छ भने बत्ति लगायतका अन्य सीपहरु पनि सिकाईएको अधिकृत पुजा काफ्लेले बताईन् । जेष्ठ नागरिकहरुको समय र उनिहरुसँगको साहारा पनि हुने र नयाँ पुस्तालाई समेत सीप हस्तान्तरण गर्न सकिने भएकाले पुस्तान्तरण सीप हस्तान्तरणको बारेमा कार्यक्रम आयोजना गरिएको उनले बताईन् । कार्यक्रममा विभिन्न क्षेत्रबाट ६५ भन्दा धेरै बालबालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न शाखाका कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।