2026 April 28/ 08:32: 54pm

बेथान्चोक/बेथान्चोक गाउँपालिकाले २०८१ असोज १०–१२ मा भएको क्षतिबाट विस्थापित परिवारका लागि प्राप्त अस्थायी आवास बापतको पहिलो किस्ताको २५ हजार रकम निकासा गरेको छ । पालिकाका २ सय ३९ परिवारलाई एकै पटक उनिहरुकै खातामा जम्मा हुने गरी रकमान्तर गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए । 
    गाउँपालिका भित्र विपदबाट प्रभावित भई अस्थायी आवास निर्माणका लागि सूचना प्रणालीमा प्रविष्ट भएका २ सय ३९ घर परिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापत प्रति ब्यक्ति २५ हजारका दरले सम्वन्धित लाभग्राहीहरुका खातामा निकासा पठाईएको उनले बताए । दोश्रो किस्ता बापतको रकम पहिलो किस्ता लिएर अस्थायी आवास निर्माण गरेको प्रमाण पेश गरे पछि संघीय सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पालिकाहरुमा पठाउने छ । 
    विपदमा धेरै क्षति भएका पालिकाहरु मध्ये बेथान्चोक पनि हो । मानविय सँगै ब्यक्तिका घर, गोठ, खेतबारी, पशु चौपाया, सडक, विद्युत्त, खानेपानी लगायतका अन्य पूर्वाधारहरु समेतमा क्षति पुगेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए । तत्कालै सडक, सञ्चार र विजुलीको सम्र्पक जोडेको गाउँपालिकाले विस्तारै पुर्नर्निमाण र पुर्नवासका कार्यक्रमहरुलाई प्राथमिकता राखेर कार्य गरिरहेको अध्यक्ष अधिकारीले बताए । नागरिकहरुलाई विपदका समयमा स्थानीय सरकारले सक्दो साथ, सहयोग र समन्वय गर्न सक्छ भन्ने विश्वास दिलाउने कार्यमा बेथान्चोक गाउँपालिकाका जनप्रतिनिधिहरु सफल भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् ।