2026 April 28/ 08:32: 52pm

    बनेपा/काभ्रे सेवा समाजको आयोजनामा बुद्ध जयन्तीको अवसर पारेर बैशाख २९ गते पनौती देखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ । 
    काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि “काभ्रेको लागि केही गरौं” भन्ने मुल नाराका साथ २०६९ सालमा  स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाईला टेकेकोे नमोवुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो । समाजले गत वर्ष २०८० साल असोज ६ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्राको आयोजना गरेको थियो । 
    विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्य सहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिन लागिएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए । उनका अनुसार, पनौतीको मानेश्वरीबाट रिवन काटी शान्ति पदयात्रा सुरु गर्ने र सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्घमा पुगेर टुंगिनेछ । पनौतीदेखि नमोवुद्धसम्मको ९.५ किलोमिटर दुरी छ । 
    बुद्ध जयन्तीको दिन पारेर आयोजना गरिने यो कार्यक्रम विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपुर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ । समाजका अनुसार, पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज, पत्रकार लगायतका क्षेत्रका प्रतिनीधिहरुसहित करिब एक हजार जना सहभागी हुने लक्ष्य राखिएको छ । बनोपमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुरुषोतम नेपाल, निवर्तमान अध्यक्ष प्रल्हाद केसी, पुर्व अध्यक्ष केशव थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने तथा काभ्रे सेवा समाजका पदाधिकारीहरु लगायतको सहभागिता थियो ।