बनेपा/शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाले सेवा सुविधालाई थप प्रभावकारी बनाउने उदेश्यले गुणस्तरीय जनशक्ति सहित नयाँ प्रविधिहरुहरु भित्र्याएको छ । विरामीहरुको उपचारमा सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्यले प्रविधिहरु थप गरिएको अस्पतालले जानकारी गराएको छ ।
अस्पतालका कार्यकारी प्रमुख डा.हेक्टर गायरसले शीर मेमोरियल अस्पतालले प्रविधिको उपलब्धता सँगै विरामीलाई गरिने ब्यवहार, प्राविधिक ज्ञान र दक्ष जनशक्तिको उचित ब्यवस्थापन गरिएको बताए । ‘मेशिन र प्रविधिको प्रयोग मात्रै नभई गुणस्तरीय सेवा पहिलो शर्त र प्राथमिकता राखेका छौं’–डा.हेक्टर गायरसले भने–‘विरामीहरुका लागि उचित प्रविधि सहितको प्रयोगका लागि अस्पताल निरन्तर सक्रिय छ ।’ अस्पतालले पछिल्लो समय प्रविधि सहितका उपकरणहरु मार्फत उपचार सेवा उपलब्ध गराएको छ । बैशाख २४ गते देखि अस्पतालले सिटी स्क्यान मेशिन संचालन गर्दै छ । डायोलोसिस सेवाका लागि पुर्वाधार निर्माणको कार्य भईरहेको अस्पतालले जानकारी दिएको छ ।
बुधबार शुभारम्भ गरिएका उपकरणहरु अल्ट्रासाउन्ड मेशिन, ल्याप्रोस्कोपिक टावर, युरेटेरोनस्कोप र सर्भर मेशिन विरामीहरुका लागि बहुउपयोगी मानिन्छ । विरामीलाई दयालु हेरचाहका लागि उक्त उपकरणहरु थप महत्वपूर्ण हुने अस्पतालका मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले बताईन् । डा.अनिल पालिखे र डा.अनुपम भण्डारीले यस अघि अस्पतालमा रहेका तीनवटा अल्ट्रासाउण्ड मेशिनबाट उपलब्ध गराएको सेवामा थप अर्काे उपकरणले विरामीहरुका लागि सहयोग पुग्ने बताए । विरामीहरुले उक्त सेवाका लागि दैनिक सहज रुपले सेवा पाउने गरी ब्यवस्थापन गरिएको डाक्टरद्धय पालिखे र भण्डारीले बताए ।
डा.धु्रर्व कँडेलले ल्याप्रोस्कोपिक टावर र युरेटेरोनस्कोपको प्रयोग र त्यस मार्फत विरामीहरुका लागि उपलब्ध गराईने सेवा गुणस्तरीय र सहज हुने बताए । मृगौलामा हुने पथ्थरी तथा अन्य उपचार सेवामा यि उपकरहरु सहयोगी र सरल बन्नेछन् । ल्याप्रोस्कोपिक टावर र अल्ट्रासाउण्ड मेशिनका लागि जर्मन रोटरीयनहरुले सहयोग गरेका हुन् । अस्पतालले विभिन्न सहयोगीहरु मार्फत प्राप्त उपकरणहरुलाई विरामीको उपचार सेवामा भरपुर उपयोग गर्ने बताएको छ । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले अस्पतालले उपलब्ध गराएको सेवालाई अझै प्रभावकारी बन्न उपकरणहरु सहयोगी बन्ने बताए ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, वडा अध्यक्ष बलराम अधिकारी, अस्पतालका विभागिय प्रमुखहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुले अस्पतालले उपलब्ध गराईरहेका सेवाहरु विरामीका लागि महत्वपूर्ण र अत्यावश्यक भएकाले त्यसको निरन्तरता र गुणस्तरका लागि शुभकामना दिएका थिए ।





