पनौती/सप्ताहव्यापी योग ध्यान शिविरमा करिव ५ हजार जना सहभागी भएका छन् । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र सबैभन्दा कम उमेरकी ६ वर्षीय साधिका सम्रिना श्रेष्ठले संयुक्त रुपमा योग ध्यान शिविरको उद्घाटन गरेका थिए ।
जीवन विज्ञान प्रतिष्ठान पनौती नगर परिषद्ले २०८१ चैत २४ गते देखि ३० गतेसम्म पनौती रंगशालामा सञ्चालन गरेको शिविरमा दैनिक ७ सय जनाको सहभागीता रहेको संयोजक एवं प्रशिक्षक मिरा पौडेलले जानकारी दिइन् । शिविरमा योग, ध्यान र प्राणायाम सिकाइएको थियो । पनौती नगर क्षेत्रमा धेरै मानिस अट्ने हल नभएकाले खुल्ला चौरमा शिविर सञ्चालन गरिएको संयोजक पौडेलले बताइन् । आफु खुसी हुँदा जति आनन्दीत भइन्छ त्यो भन्दा धेरै अरुलाई खुसी बनाउँदा आनन्दीत महसुस हुने गरेको प्रशिक्षक शारदा घिमिरे न्यौपानेले बताइन् । सकारात्मक सोच विकासका लागि ज्ञानलाई समाज सम्म पुर्याउन जरुरी रहेको उनको भनाई थियो ।
शिविरमा १४ वर्षिय साधक सगर्व न्यौपाने, रमेश पौडेल लगायतले प्रशिक्षण दिएका थिए । सानै उमेरमा प्रशिक्षक प्रशिक्षणको तालिम प्राप्त गरेको भन्दै न्यौपानेले शिविर मार्फत राम्रो बानी सिकेको बताएका छन् । विविध कारण मानिसको मन अशान्त बनाउन शिविर सफल भएको प्रशिक्षक पौडेलले बताए । शिविरमा दिपक घतानी उत्कृष्ट स्वयंसेवकका रुपमा सम्मानित भएका छन् । शिविरमा सहभागीले कार्यक्रम समापन पछि सरसफाई गरेर कार्यक्रम सम्पन्न गरेका थिए ।





