2026 April 28/ 06:59: 49pm

बाल स्वास्थ्य तथा आँखा परिक्षण शिविर

    धुलिखेल/धुलिखेल नगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा ४१ वटा स्वास्थ्य शिविर आयोजना गरेको छ । सोमबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर धुलिखेल नगरपालिका २ रविओपीमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । धुलिखेल नगरपालिकाको आयोजना तथा धुलिखेल अस्पतालको सहकार्यमा स्वाथ्य शिविर आयोजना गरिएको हो ।
    शिविरको उद्घाटन धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले गरेका छन् । नगर प्रमुख ब्याञ्जुले स्वास्थ्य सम्बन्धी चेतनाको विकास जरुरी रहेको बताए । हात धोएर मात्रै खाना खानुपर्छ, मास्क लगायर हिड्डुल गर्नुपर्छ भन्ने चेतनाको विकासले मात्रै पनि धेरै रोगबाट बच्न सकिने उनको भनाई थियो । उनले असल खानपानमा ध्यान दिँदै व्यवहार परिवर्तनमा जोड दिएका छन् । स्थानीयको सहयोग, निगरानी र सामुहिक प्रयासले मात्रै सफलता प्राप्त गर्न सकिने भन्दै नगर प्रमुख ब्याञ्जुले रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने बताए । 
    कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, जनस्वास्थ्य कार्यालय काभ्रे प्रमुख रागीश्री कक्षपति श्रेष्ठ, धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपाने, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, सरोज थापा, पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनाले स्वस्थ जीवनशैलीका लागि अपनाउनुपर्ने सजकता, स्वास्थ्य चेतनाका बारेमा धारणा राखेका थिए । वडा अध्यक्ष न्यौपानेले बढ्दो विषादीको प्रयोगले क्यान्सर लगायतका रोगको संक्रमणदर बढ्दै गएको बताए ।