बनेपा/एमाले निकट किसानहरुको छाता सगठन अखिल नेपाल किसान महासंघ काभ्रे जिल्ला कमिटीको ७ आंै जिल्ला अधिबेशन बनेपामा आयोजना गरिएको छ । एमाले केन्द्रि सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा लगायतका नेताहरु प्रमुख बक्ता रहेको अधिबेशनको बन्द सत्रले नयाँ कमिटी चयन गरेको छ ।
अधिबेशनको बन्द सत्रले धिरज काफ्ले अध्यक्ष, उपाध्यक्ष अष्टबहादुर तामाङ र महिला उपाध्यक्ष रुपा थापा, सचिव मनराज महत, उप–सचिव शिव तिमल्सिना, महिला उप–सचिव सुशिला खड्का र कोषाध्यक्ष सन्तोष राउत रहेका छन् । जिल्ला अध्यक्ष श्यामसुन्दर चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै एमाले केन्द्रिय कमिटी सचिव योगेश भट्टराईले राजावादीहरुले गरेको आन्दोलनको हिसात्मक घटनालाई लफङ्गाहरुको अराजकताको संज्ञा दिएका छन् । महासचिव मदन भण्डारीले २०४६ सालमा राजा र राजसंस्थालाई चेतावनी दिँदै आफ्नै स्थानमा बस्न अनुरोध गरेको स्मरण गराउँदै भट्टराईले भने–‘२०५८ पछिको विध्वंसले नागरिकको हैसियतमा पुगेका राजा र चिहानमा पुगेको राजसंस्था फेरी लफङ्गाको भरमा चलखेल गर्न खोज्यो भने परिणाम भोग्न तयार रहन चेतावनी दिन्छौं ।’ प्रधानमन्त्री र सरकारलाई खुट्टा नकमाउन ढाडस दिँदै सचिव भट्टराईले भने– ‘निर्वासनमा नपठाई नेपालमा बस्न दिएको फाईदा उठाउने चेष्टा ग¥यौ भने दुखान्त घटनाका लागि तयार रहनु ।’
इतिहासमा राजा र राजसंस्थाले मच्चाएको भण्डारखाल, कोतपर्व जस्ता घटनाको स्मरण गराउँदै राजाहरुकै पालामा मिचिएको सिमा, गुमेको भुमि र नेपालको नक्सा समेतको विषय उठाउँदै सचिव भट्टराईले प्रजातन्त्र प्राप्ति पछि भएको विकास र समृद्धिबाट जनताकै छोराले शासन गर्न पाउने उन्नत लोकतन्त्र सहितको गणतन्त्रबाट मात्रै मुलुक निर्माण हुने विश्वास ब्यक्त गरे । शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार निर्माणमा भएको प्रगति राजतन्त्रको समयमा भन्दा धेरै भएको तथ्य प्रस्तुत गर्दै पृथ्वीनारायण शाह पछि मुलुकको एकीकरण र विकासमा नेकपा एमाले मात्रै सक्रिय भएको बताए ।
कार्यक्रममा पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नागरिकहरुको पक्षमा नेकपा एमाले नेतृत्वको सरकारले काम गरिरहेको बताए । सरकारमा हुँदा कृषक तथा नागरिकहरुका पक्षमा र सरकार बाहिर हुँदा आफ्नो रोडम्याप प्रस्तुत गरी कृषकहरुका पक्षमा काम गर्न दबाब दिईरहेको बताए । राजावादीहरुको आन्दोलन कर्कलोमा बञ्चरो चलाए जस्तो भएको बताउँदै नेता बास्कोटाले उहिल्यै लखेटेको राजा नर्फकने दावी गरे । एमालेले चलाएको अभियानका क्रममा मण्डन पाँचखाल सिंचाई योजनाको कार्यक्रम शुभारम्भ हुन लागेको बताए ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष रामशरण आले मगर, महासचिव सरिता भुषालले किसान महासंघकै अगुवाईमा भएका कृषकहरुका पक्षका नीति, कानून र निर्णयहरु सहित प्रविधि र आन्दोलनका घटनाक्रम सुनाए ।
एमाले जिल्ला अध्यक्ष राजन भुर्तेलले काभ्रेपलाञ्चोक जिल्लामा एमाले नेतृत्वका सरकारले गरेका कृषकका पक्षका कार्यक्रम र परिणाम सहितको परिवर्तनका फेहरिस्त प्रस्तुत गरे । कार्यक्रममा एमालेका जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका नेताहरु, अखिल नेपाल किसान महासंघका केन्द्रिय कमिटी र प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, गाउँ तथा नगर कमिटीका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रम सचिव मुकुन्द लामिछानेले संचालन गरेका थिए ।





