धुलिखेल/जर्मन रोटरी भोलेन्टियर डाक्टर ईभी तथा रोटरी क्लव अफ धुलिखेलको आर्थिक सहयोगमा धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, बर्दघाट स्थित शहिद स्मृति अस्पताल र बाँकेको कोहलपुर स्थित कौशल्या मेमोरियल अस्पताललाई हेमोडायलाईसिस मेशिन हस्तान्तरण गरेको छ ।
धुलिखेल नगरपालिकामा आयोजित कार्यक्रममा रोटरी क्लव अफ धुलिखेलकी अध्यक्ष ज्योत्सना सैंजुको अध्यक्षता रहेको थियो । सांसद तथा उद्योगपति विनोद चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पताल तथा अस्पताल रहेका नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सांसद तथा उद्योगपती विनोद चौधरीले धुलिखेलबाट स्थानीय सरकार तथा देशले विकास सिक्नु पर्ने बताए । ‘धुलिखेल र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुबाट नगरको विकासका आधारहरु हेर्नुस र सिक्नुस’–उद्योगपती समेत रहेका सांसद चौधरीले भने–‘हरेक स्थानीय सरकार नेतृत्व त्यहि रुपले सक्रिय हुँदा मुलुक समृद्ध हुनेछ ।’ कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका र रोटरी क्लव अफ धुलिखेलको त्रिपक्षीय साझेदारीमा ब्लड बैक तथा रिसर्च सेन्टर स्थापना तथा धुलिखेल नगरपालिका र रोटरी क्लव अफ धुलिखेलको साझेदारीमा विद्युत्तिय शवदाह गृह निर्माण गर्ने बताए । सोहि कार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । धुलिखेल नगरपालिकाले एक पछि अर्काे नागरिकहरुका लागि आवश्यकता पुरा गर्ने गरी विकास निर्माण गरिरहेको छ । धुलिखेल स्वस्थ शहर घोषणा भएको, नागरिकहरुलाई स्वास्थ्य बीमा मार्फत सेवामा सहज तथा अन्य सुविधाहरु उपलब्ध गराउँदै आएको नगर प्रमुख ब्याञ्जुले बताए ।
कार्यक्रममा वर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, धुलिखेल अस्पतालका प्रमुख प्रशासकीय प्रमुख डा.विराज कर्माचार्य, बनेपा स्थित शिर मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायस, जर्मन रोटरीका डा.क्लाउस, धुलिखेल रोटरीका पुर्व अध्यक्षहरु शुशिल ब्याञ्जु, रञ्जिव श्रेष्ठ, अशोक श्रेष्ठ, अनिश जोशी लगायतले सेवाका बारेमा धारणा राखेका थिए । नेपालमा मृगौला रोगीहरुको संख्या बढिरहेको र मेशिन उपलब्ध नहुँदा सहज सेवा प्राप्त गर्न नसकेको बताउँदै उपलब्ध मेशिनहरु मार्फत सेवामा सहज पहुँच पुग्ने सहभागिहरुले बताए ।
रोटरीले यस अघि पनि धुलिखेल नगरपालिका तथा नेपाल नगरपालिका संघ मार्फत अपाङ्गता भएका ब्यक्तिहरुका लागि ह्विलचियर उपलब्ध गराएको प्रोजेक्ट सर्भिस कमिटीका अध्यक्ष रोटरीयन अशोककुमार श्रेष्ठले बताए । हेमाडाईलासिस मेशिन हस्तान्तरण कार्यक्रममा पनि रोटरी क्लव अफ धुलिखेलका प्रोजेक्ट सर्भिस कमिटीका अध्यक्ष रोटरियन अशोक श्रेष्ठले अगुवाई गरिरहेका छन् । रोटरीले धुलिखेल अस्पतालमा १० थान, बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा १० थान, कौशल्या मेमोरियल अस्पताल कोहलपुर बाँकेमा १० थान र बर्दघाटमा रहेको शहिद स्मृती अस्पतालमा ६ थान मेशिन हस्तान्तरण गरिएको अध्यक्ष ज्योत्सना सैंजुले बताईन् । ३६ वटा मेशिनलाई ५ करोड रुपैया भन्दा धेरै मुल्य पर्नेछ ।





