धुलिखेल/जनस्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमहरुको अर्ध बार्षिक समीक्षा गरेको छ ।
जनस्वास्थ्य कार्यालयकी प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयले गरेका कार्यक्रमहरुको प्रगती प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्लामा विकरालका रुपमा जान लागेको रेबिज भ्याक्सिनको उचित ब्यवस्थापन, नसर्ने रोगको औषधीको ब्यवस्थापन, डेंगी रोगको नियन्त्रण तथा ब्यवस्थापनमा चुनौती रहेको साथै मानसिक स्वास्थ्य समस्या तथा आत्महत्या न्यूनीकरण कार्यक्रमलाई संघीय र प्रदेश सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताईएको थियो । त्यसैगरी जिल्ला भित्र सञ्चालित सेवा प्रदायक निकायकोहरुमा सरकारी अस्पताल, निजी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, शहरी स्वास्थ्य केन्द्र लगाएतका केन्द्रहरुबाट स्वास्थ्य सेवा प्रदान हुँदै आएको कार्यालय प्रमुख रागिश्री श्रेष्ठले बताईन् । जनस्वास्थ्य कार्यालयले समय समयमा औषधी पसलहरुको अनुगमन गरी निषेधित औषधी विक्री वितरण गर्नेलाई कार्यवाही प्रक्रिया अगाडी बढाईएको बताएको थियो । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका दिपेन्द्रकाजी श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष विनोद न्यौपाने, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।





