धुलिखेल/ जिल्ला स्तरीय बजार अनुगमन समितिले धुलिखेल सदरमुकाम स्थित धुलिखेल बजारका विभिन्न किराना तथा होटल पसलहरुको अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, उद्योग तथा बाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धुलिखेल उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, जिल्ला समन्वय समिति, नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाका प्रतिनिधिहरु सम्मिलित अनुगमन टोलीले धुलिखेलका विभिन्न किराना तथा होटल पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा मापदण्ड विपरित रहेका ५ वटा किराना पसललाई जरिवना गरेको छ भने केहि पसललाई सचेत गराएको छ । खाद्य तथा किराना पसलमा म्याद नाघेका सामाग्री फेला परे पछि तत्कालै नष्ट गरिएको छ । अनुगमन टोलीले डेढ दर्जन भन्दा धेरै पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ब्यवसायीहरुलाई सचेत गराउँदै कानून अनुसार दर्ता गर्न, म्याद नाघेका सामाग्री विक्री वितरण नगर्न, सरसफाई तथा गुणस्तरमा ध्यान दिन सचेत गराएको थियो । उक्त पसलहरुबाट २९ हजार ४ सय बराबरको म्याद नाघेका सामग्रीहरु नष्ट गरिएको थियो भने ३१ हजार जरिवान गरिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख सिताराम घिमिरेले जानकारी दिए ।
टोलीमा जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अनुगमन समिति संयोजक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख सिताराम घिमिरे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका पूर्णप्रसाद पौडेल, जिल्ला समन्वय समितिका भरत सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, उद्योग तथा बाणिज्य कार्यालयका लेखा प्रमुख रुपक हुमागाई, उद्योग सहजकर्ता रविन्द्र चौलागाई, प्रहरी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख सिताराम घिमिरेले अनुगमन नियति गरिदै आएको र अनुगमनका क्रममा बजारमा म्याद गुज्रेका सामाग्रीहरु फेला परेकाले उपभोक्ताहरुलाई सचेत भई सामान खरिद गर्न आग्रह गरेका थिए । कार्यालयले जिल्लाका १३ वटै पालिकामा बजार अनुगमन गर्दे आएको घिमिरेले बताए ।





