2026 April 28/ 06:47: 41pm

       महेन्द्रज्योती, बाँस्डोल/कोटथुम्का खानेपानी तथा सरसफाई जल उपभोक्ता समितिको तेस्रो अधिबेशन सम्पन्न भएको छ । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यतामा अधिबेशन उद्घाटन गरिएको थियो । अधिबेशनमा स्थानीय जनप्रतिनिधि, समूहका प्रतिनिधि तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो । 
    अधिबेशनको बन्द सत्रले पुनः इच्छाराम थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष लक्ष्मी थापा, सचिव कृष्णजी थापा, कोषाध्यक्ष उमा सत्याल थापा निर्वाचित भएका छन् । त्यस्तै कार्य समिति सदस्यहरुमा प्रल्हाद थापा, सपना थापा, रोशन थापा, हरिशरण विष्ट, सुशीला ज्ञवाली, किशोर थापा र लक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन् । सुजन ज्ञवालीद्वारा संचालन भएको उक्त कार्यक्रम अध्यक्ष इच्छाराम थापाको सभापतित्वमा सम्पन्न भएको थियो । 
    कार्यक्रममा बोल्दै बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले नागरिकहरुलाई अत्यावश्यक तथा आधारभुत आवश्यकता पुरा गर्ने अभियानमा जनप्रतिनिधिहरु सक्रिय रहेको बताईन् । एक घर एक धारा, सडक, शिक्षा, स्वास्थ्य तथा नागरिकहरुका अन्य आवश्यकताका विषयमा नगरपालिका तथा वडा मार्फत सहजिकरण गरिरहेको उनले बताईन् । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्वर १२ का वडा सदस्य सागर लामाले आगामी वर्षको नीति तथा कार्यक्रममा स्थानीयहरुको मागलाई सम्बोधन गर्ने बताए । 
    अधिवेशनको बन्द सत्र संचालन तथा नयाँ समिति निर्वाचनका लागि सुवर्णविक्रम थापाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो । समितिले समूहको विधान अनुरूप नयाँ समिति निर्विरोध चयन गरेको छ ।