बेथान्चोक/फ्रिडम टु लर्न नेपालको आयोजनामा बेथान्चोक गाँउपालिकाको सहकार्यमा तथा फ्रिडम टु लर्न, युकेको सहयोगमा कृष्ण गोपाल माध्यमिक विद्यालयमा शिक्षामा कचहरी नाटक तथा बृहत संवाद कार्यक्रमको आयोजना गरेको छ ।
बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा कृष्ण गोपालका माविका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकाहरुले आफ्नो घरमा, समुदायमा र विद्यालयमा दैनिक अध्ययन सम्बन्धी आफैले भोगेका समस्या समाधानको प्रयत्न गर्ने उद्देश्यले सरोकारवाला सँग बृहत संवाद गरेको छ । संवादमा विद्यालयमा अध्यनरत कक्षा ६,७ ८ र ९ मा अध्यनरत बालबालिकाहरुले कचहरी नाटक मार्फत उनिहरुले घरमा विद्यालय आउँदा जाँदा समुदायमा र कक्षा कोठामा उनिहरुकै नजरबाट के कस्ता समस्याहरु भोगिरहेका छन् भन्ने विषय प्रस्तुत गरेका थिए । फ्रिडम टु लर्न नेपालको सहयोगमा बालबालिकाहरुले २१ हप्ताको तयारी पछि उक्त नाटक प्रस्तुत गरेका थिए । नाटकमार्फत शैक्षिक सामग्रीको आवश्यकता, कुकुरको डर, लैङ्गिक भेदभाव तथा शिक्षकहरुको अनुपस्थित लगायतको विषय दर्शाइएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, ३ नं. वडा अध्यक्ष कुवेर ढकाल, नाटक निर्देशक सुरेश चन्दलगायतले नाटकले विद्यार्थीहरुले भोग्नु परेको बास्तविक समस्या उजागार गरेको बताएका थिए । कार्यक्रममा फ्रिडम टु लर्न नेपालका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण थापाले संस्थाले विगत १५ वर्षदेखि नेपालका विभिन्न स्थानमा कार्य गर्दै आएकोमा बेथान्चोक गाउँपालिकाका ३ वटा विद्यालयमा सामुदायिक विद्यालयमा सामुदायिक शिक्षाको गुणस्तर अभिबृद्धिमा सघाउ पु¥याउने उद्देश्यले ६ महिना देखी शिक्षामा कचहरी कार्यक्रम मार्फत काम गर्दै आएको बताए । श्रीकृष्ण गोपाल मावि, पार्वती मावि र सरस्वती माविमा उक्त कार्यक्रम गर्दै आएको थापाले बताए ।
कार्यक्रम पश्चात विद्यार्थीहरुमा परिवर्तन आई शिक्षामा गुणस्तर बृद्धिमा सहयोग पुगेको थापाले बताए । शिक्षामा कचहरी कार्यक्रम फागुन १५ गते सरस्वती माविमा र फागुन १९ गते पर्वती माविमा हुने समेत थापाले बताए । कार्यक्रम संस्थाका अध्यक्ष निर्मल शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम फ्रिडम टु लर्न नेपालका अध्यक्ष डा. निलम कुमार शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।





