धुलिखेल/कृषि विकास कार्यालय काभ्रेले कृषकहरुले लगाएको कृषि बालीको बीमा, कृषि कर्जा र कृषकहरुको पहुँच बढाउन वित्तिय क्षेत्र, बीमा कम्पनी र कृषकहरुसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । अन्र्तक्रियाबाट कृषि बीमा र सहुलियत कर्जामा भएका समस्याहरुको पहिचान गरी समाधानको प्रयत्न गरिने निश्कर्ष निकालिएको छ ।
कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले काभ्रेपलाञ्चोक जिल्लामा भएका कृषकहरुका लागि सहज र सरल कर्जा प्रवाह तथा बाली बीमाका बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए । साथै काभ्रेपलाञ्चोक जिल्लामा भएका कृषकहरुको अवस्था, कर्जा र बीमा पहुँच तथा समस्याका बारेमा समेत दवाडीले कार्यपत्र प्रस्तुत गरेका थिए । काभ्रेपलाञ्चोक जिल्लामा ६९ हजार ९ सय ४१ कृषक परिवार छन् । जसमध्ये ९ हजार ६ सय २९ कृषक परिवारले कृषि ऋण लिएका छन् । ३० हजार ७ सय ५६ परिवारका लागि कृषि ऋण आवश्यक भएको तथ्यांक सार्वजनिक भएको छ । १२ हजार ३ सय ७९ कृषक परिवारले कृषि कृयाकलापका लागि बीमा गरेको बताएका छन् । कृषि बीमा तथा कर्जामा कृषकहरुले भोगिरहेका समस्याका बारेमा बताउँदै कार्यालय प्रमुख दवाडीले चेतनाको अभाव, अनौपचारिक बैकिङ पहुँच, संस्थागत ब्यवसायीक कृषि विकासको कमी, दुर्गम क्षेत्रमा कम पहुँच, प्रिमियमको ८० प्रतिशत अनुदान हुँदा पनि ब्यापकता हुन नसकेको, सहि तथ्यांकको कमी, नियामक निकायको कम सक्रियता, कर्जा वितरणमा ढिलाई र जटिलता, प्राकृतिक विपत्ति र जोखिमको उच्च भय, धितोका लागि सम्पतीको अभाव, जग्गावालाले लालपुर्जा प्रयोग गर्न नदिने, वित्तिय साक्षरताको अभाव लगायतका विषयमा समस्या भएको दवाडीले बताए ।
कार्यक्रममा नेपालमा हालसम्म भएको कृषि बीमाको अवस्था, प्रिमियमको भुक्तानी, सरल कर्जा तथा कर्जा प्रवाहको अवस्थाका बारेमा जानकारी गराईएको थियो । राष्ट्रिय बाणिज्य बैक बनेपा शाखाका प्रमुख जगन्नाथ अधिकारीले कृषि क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाहको अवस्था र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै बीमा प्राधिकरण ललितपुरकी सहायक निर्देशक सीता पाण्डेले कृषि बीमाको अवस्था, सम्भावना तथा कृषकको पहुँचका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । त्यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोषकी प्रवन्धक मन्दिरा थपलियाले सहुलियत कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा सोहि कार्यालयका अधिकृत दिनेश कोईराला, बागवानी विकास केन्द्र पाँचखालका प्रमुख विष्णु बोगटी, रेशम विकास केन्द्रका प्रमुख कृष्ण धिताल, पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा.सिर्जा वाग्ले, पनौती नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख डा.दिपिका रेग्मि लगायतको सहभागिता थियो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, कृषक प्रतिनिधिहरु, बंैक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरुले असल र उत्कृष्ट कृषकहरुलाई परेका समस्यामा कानूनी समस्या हटाउँदै ब्यवहारीकतामा समेत ध्यान दिन सुझाव दिएका थिए ।





