2026 April 28/ 05:35: 14pm

    बनेपा/गुरुकुल परिवारकुल हुँदै बालकहरुलाई शारिरिक र मानसिक यातना दिने क्रम बढे पछि अभिभावकहरु चिन्तित हुन थालेका छन् । संस्कृत सिकाउने नाममा शिक्षकले मरणासन्न हुने गरी कुटपिट गरेको गुनासो बालकहरुले अभिभावकलाई गरे पछि गुनासो लिएर गुरुकुल पुगेका अभिभावकहरुको समुहलाई गुण्डागर्दीको अभियोग लगाईएको छ । 
    कक्षा ७ र ८ मा अध्ययन गर्ने दुई बालकलाई विद्यालयमा संस्कृत पढाउने शिक्षक कौशल आचार्यले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । बालकद्वयले अभिभावकहरुलाई फोन गरी शिक्षक आचार्यले कुटपिट गरेर हात भाँचिदिएको, कान फुटाईदिएको बताएका थिए । तत्कालै अस्पताल पु¥याईएका दुई बालकहरुको उपचार गरिएको छ । कक्षा ७ मा अध्ययन गर्ने बालकको हात भाँचिएको छ भने अर्का बालकको कानमा टाँका लगाईएको छ । संस्कृत विषयका शिक्षक कौशल आचार्य प्राचार्य दिब्यमणी अधिकारीका भान्जा हुन् । गोसाईस्थान नैमिषारन्य क्षेत्र विकास समितिद्वारा सञ्चालित नैमिषारन्य संस्कृत गुरुकुलमा विगत २ वर्ष देखि बालकहरुलाई मानसिक र शारिरिक यातना दिदै आएको बालकहरुले बताएका छन् । केहि समय अघि कक्षा ९ र १० मा अध्ययन गर्ने ८ जना बालक भागेर सिन्धुलीको बर्दिबासबाट फर्काएको थियो । 
    गोसाईस्थान नैमिषारन्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्द शर्मा हुन् । पटक पटक उक्त समितिलाई अभिभावकहरुले बालकहरुले कुटपिट र मानसिक यातना खपिरहेका विषयमा जानकारी गराउँदा समेत बेवास्ता गरेको बताईएको छ । २०८१ माघ ३० गते शिक्षक कौशल आचार्यले दुई बालक मरणासन्न हुने गरी अभिभावकहरुको समुह गुरुकुलमा आएर शिक्षक आचार्यलाई कारवाहीको माग गरेका थिए । तत्कालै गुरुकुलका तर्फबाट प्राचार्य दिब्यमणी अधिकारीले वडा नम्वर ६ बनेपामा अभिभावकहरुले गुण्डागर्दी गरेको र बालकहरुले अभद्र ब्यवहार गरेकाले निस्कासनको अनुमति दिन निवेदन दिएका थिए । कौशल २ वर्ष देखि गुरुकुलमा कार्यरत थिए । अभिभावकहरुको चर्काे दबाब पछि गुरुकुल ब्यवस्थापन समितिबाट उनलाई ४ गते निश्कासन गरिएको छ । दिब्यमणी अधिकारी प्राचार्य भएर गुरुकुलको जिम्मेवारीमा भन्दा कर्मकाण्डमा ब्यस्त भएको भन्दै आलोचना हुँदै आएको छ । सपरिवार उनि गुरुकुलमा बस्दै आए पनि कर्मकाण्डका लागि विभिन्न जिल्लामा जाने गरेका छन् । बालकहरु कुटपिट भएको समयमा उनि चितवनमा कर्मकाण्डमा ब्यस्त थिए । 
    गुरुकुलमा प्राचार्य दिब्यमणी अधिकारी लगायत परिवारका अन्य सदस्यहरु कार्यरत छन् । यस अघि स्वंय प्राचार्यद्वारा विद्यार्थी कुटपिट भएको भन्दै विद्यार्थीहरुलाई अभिभावकलाई उजुरी गरेका थिए । उपचारका क्रममा बालकहरुको ६÷७ हजार रुपैया खर्च भएको थियो । अभिभावकहरुले खर्च ब्यहोर्नु पर्ने बताए पछि उनले शुरुमा हुन्छ भनेको भए पनि पछि नदिएको र माफि पनि नमागेको अभिभावकले बताएका छन् । वडा कार्यालयले छलफल गराए पछि बाध्य भएर माफि मागेर मिलापत्र गराईएको थियो । गुरुकुलमा ५५ जना बालकहरु छन् । गत वर्ष शतप्रतिशत विद्यार्थी उर्तिण गराई उत्कृष्ट भनिएको गुरुकुल भित्र अनियमितता भएको गुनासो दाताहरुले समेत लगाएका छन् । गुरुकुलमा आएको चामल छिमेकमा विक्री गरेको विषयमा समेत समितिमा उजुरी परे पनि छानविन भएको थिएन । यो वर्ष देखि गुरुकुलमा कक्षा ११ को अध्ययन भईरहेको छ । 
    बालकहरु कुटिएको अभिभावकको उजुरी पछि गुरुकुल ब्यवस्थापन समितिका अध्यक्ष भैरव केसीको संयोजकत्वमा छानविन समिति गठन भएको छ । समितिमा वडा प्रतिनिधि लालकृष्ण तिमल्सिना र ब्यवस्थापन समितिका पुर्व अध्यक्ष फडिन्द्रराज अधिकारी सदस्य रहेका छन् । छानविन समितिले बालकहरुलाई मानसिक र शारिरिक यातना दिएको, अनियमितता भएका सन्र्दभमा छानविन गरी प्रतिवेदन बुझाउने छ ।