2026 April 28/ 05:33: 47pm

    धुलिखेल/धुलिखेलमा आयोजना हुन लागेको विश्व यूवा सम्मेलनको पूर्व तयारी स्वरुप जिल्ला स्तरीय अभिमुखिकरण आयोजना गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा मार्च २७ –३१ अर्थात चैत्र १४ देखि शुरु हुने सम्मेलनमा करिव एक सय देशका प्रतिनिधि सहभागि हुने अपेक्षा गरिएको छ । 
    कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले उमेरले भन्दा सोचले युवा हुने बताउँदै विश्व यूवा सम्मेलन आयोजना गर्ने दुस्साहस गरेकोमा धन्यवाद ब्यक्त गरे । ‘युवा साहस हो, युवा परिवर्तनको संवाहक हो’–पुर्व मन्त्री बास्कोटाले भने–‘संसार बदल्ने तागत भएका युवाहरुलाई उत्पादन र आविश्कार तर्फ सहभागि गराउनु पर्छ ।’ युवाहरु कापबाट निस्केका पिपल जस्ता भएकाले उनिहरुको चेतना र विकासलाई कसैले रोक्न नसक्ने पूर्व मन्त्री बास्कोटाले बताए ।
    कार्यक्रममा प्रदेश सांसद रत्न ढकालले युवा नीति निर्माण गरिएको, युवा लक्षित कार्यक्रम संचालन गरिएको र युवाहरुलाई केन्द्रित गरेर पलायनता र निराशा रोक्ने कार्यक्रम प्रभावकारी रुपले संचालन गर्न तीन तहकै सरकार केन्द्रित रहेको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य तिर्थ लामा, नेपाल पत्रकार महासंघ महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, काठमाडौ विश्वविद्यालयका गोकुल केसी, विदेशी डायना, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ लगायतले मन्तब्य राखेका थिए । 
    कार्यक्रमका बारेमा जानकारी गराउँदै जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले सम्मेलनबाट नेपाल, नेपालको संस्कृति तथा जलवायु परिवर्तन लगायतका ५० भन्दा धेरै विधामा २ सय भन्दा धेरै बक्ताहरुले जानकारी गराउने र १० हजार भन्दा धेरै युवाहरु सहभागि हुने बताए । युवा सम्मेलनको उद्घाटन सत्रमा १ लाख भन्दा धेरै युवाहरु सहभागी हुने उनले बताए ।