2026 April 28/ 05:33: 46pm

पनौती/.मानेश्वरी ब्वाईज क्लवको आयोजना तथा पनौती नेपाल र विश्राम समाजको सह–आयोजनामा क्लवका निवर्तमान अध्यक्ष लक्ष्मी नारायण (लक्ष्य) स्मृति खुल्ला फुटबल प्रतियोगिता पनौती क्षेत्रीय रंगशालामा शुरु भएको छ । प्रतियोगिताको समापन फागुन १३ गते हुनेछ । 
    पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्ष सविन ताम्राकार, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मानविर लामा, एन्फा केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष विकासनारायण श्रेष्ठ लगायतले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरेका थिए । १८ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको पहिलो खेल मानेश्वरी व्वाईज क्लव निलो र राजु एफसी बनेपा बीच भएको थियो । मानेश्वरी ब्वाईज क्लवका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्राम समाजका अध्यक्ष ओमकृष्ण श्रेष्ठको स्वागत मन्तब्य रहेको थियो । 
    प्रतियोगितामा विजयी हुने टिमले नगद २ लाख सहित ट्रफि, प्रमाणपत्र तथा अन्य पुरस्कार प्राप्त गर्नेछ । उप विजेता टिमले नगद १ लाख सहित अन्य पुरस्कार प्राप्त गर्नेछ । अनुशासित क्लव, प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट प्रतिरक्षक, खेल अवधिभरको उत्कृष्ट खेलाडीका लागि २ लाख ५० हजार नगद पुरस्कार उपलब्ध गराईनेछ । पुरस्कारका लागि ५ लाख ५० हजार रुपैया खर्च हुने अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए । प्रतियोगिताबाट तत्काल फुटबल खेलको विकास र प्रर्वद्धनमा सहयोग पुग्छ भने खेल पर्यटनको विकास गर्ने, युवा वर्गलाई स्वस्थ र अनुशाशित बन्ने अवसर उपलब्ध गराउने, जिल्लालाई दुब्र्यसन मुक्त जिल्ला बनाउन अभियान संचालन गर्ने र नीजि क्षेत्रलाई खेल प्रयोजनका माध्यमबाट आफ्नो उत्पादनको बजारीकरणका लागि अजसर उपलब्ध गराउने र खेल क्षेत्रबाट खेलाडीहरुको भविश्य सुनिश्चित बनाउने तत्कालको उदेश्य रहेको छ भने खेलबाट स्वस्थ, समृद्ध र सुसस्कृत जिल्ला र नगर निर्माणमा योगदान गर्दै खेल पर्यटन स्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठ, विश्राम समाजका सचिव सिजन सुद्दाकार लगायतको सहभागिता रहेको थियो । 
को हुन् लक्ष्मीनारायण खिंबञ्जार (लक्ष्य) ? 
    २०३८ साल कार्तिक ५ गते जन्मिएका लक्ष्मीनारायण खिंबञ्जार (लक्ष्य)को २०८० फागुन ६ गते निधन भएको थियो । पनौती युवा क्लव, महाँलक्ष्मी युवा क्लव, काभ्रे जिल्ला फुटबल संघ, मानेश्वरी ब्वाईज क्लव, विश्राम समाज, पनौती ब्याडमिन्टन तथा कर्भड हल ब्यवस्थापन समितिमा विभिन्न जिम्मेवारी पुरा गरेका लक्ष्मी नारायण मानेश्वरी ब्वाईज क्लवमा अध्यक्ष रहँदा नै निधन भएको थियो । करिव डेढ दर्जन भन्दा खेलमा संलग्नता राखी जिल्ला र नगरमा उत्कृष्ट खेलाडीको पहिचान भएका लक्ष्मीनारायण विभिन्न विद्यामा सम्मानित भएका थिए । २०५८ साल कार्तिक महिनामा तिहारमा आयोजित देउसी भैलाबाट संकलित रकमबाट शुरु गरिएको मानेश्वरी ब्वाईज क्लवले स्थापनाकालदेखि नै फुटबल खेलमा विशेष योगदानका साथै विभिन्न कार्य गर्दै आएको छ । उनकै नामबाट मानेश्वरी ब्वाईज क्लबले प्रतियोगिता आयोजना गरेको हो ।