बनेपा/रेयूकाई एईको मासुनागा आँखा अस्पतालले नवलपरासीको बर्दघाटमा उपचार केन्द्र संचालनमा ल्याएको छ । आँखा उपचार केन्द्रको उद्घाटन बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले गरेका थिए ।
श्रेष्ठले नागरिकको स्वास्थ्यको क्षेत्रमा नगरपालिकाले गर्नुपर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बताए । संसार देखाउने आँखाको उपचार आफ्नै नगरपालिकाबाट हुने भएकाले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने श्रेष्ठले प्रतिबद्वता ब्यत्र् गरेका छन् । रेयुकाई मासुनागा आँखा अस्पतालले अन्य उपचार केन्द्रबाट सेवा दिए जस्तै बर्दघाट उपचार केन्द्रबाट पनि गुणस्तरीय सेवा दिन अनुरोध गरेका थिए ।
कार्यक्रममा अस्पतालका महासचिव हिरामणी शर्माले बर्दघाट उपचार केन्द्र सहित ५ वटा जिल्लामा ७ वटा उपचार केन्द्रबाट सेवा प्रदान गर्दै आएको बताए । काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, धनुषा, सुनसरी र नवलपरासी जिल्लाको ७ वटा उपचार केन्द्रबाट सेवा दिईरहेको शर्माले जानकारी दिएका छन् । अस्पतालले आम नागरिकहरूका लागि आँखा परिक्षण गरि मोतिबिन्दु न्युनिकरण गर्ने र अन्धोपन हुनबाट जोगाउने, गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ अगाडि बढेको र स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारबाट समेत सहयोग रहेको शर्माले बताए । कार्यक्रममा नगरपालिकाका महिला स्वयंसेविकाहरूलाई आँखा परिक्षण सम्बन्धि तालिम प्रदान गरिएको थियो । कार्यक्रममा सेवा फाउन्डेसनका फोकल पर्सन शेखर भट्टराई, नगरपालिकाका वडा अध्यक्षहरू, महिला स्वयंसेविकाहरू, स्वास्थ्यकर्मी लगाएतको उपस्थित रहेको थियो ।





