2026 April 28/ 05:26: 37pm

    धुलिखेल/श्रमिक कृषक महिलाहरुका लागि महिलाहरुको श्रमको सम्मान सम्वन्धी संचारकर्मीहरुसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । तरंगिनी फाउण्डेशनको संयोजनमा आयोजित कार्यक्रममा मर्यादित श्रम रुपान्तरण अभियान तथा असंठित श्रमिकको योगदानका बारेमा छलफल भएको थियो । 
    श्रमजीवि महिला मञ्च काभ्रेकी अध्यक्ष शान्ति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तरंगिनी फाउण्डेशनका कार्यक्रम संयोजक शत्रुधन सिंहले संचारमाध्यमको भूमिका र नेपालका श्रमिक महिलाहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए । केहि महिना अघि महिलाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई कृषक परिचयपत्रको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।, 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले महिलाहरुको श्रमको सम्मानमा सबै पक्ष सक्रिय हुनु पर्ने बताए । राज्यका हरेक निकायमा श्रमको सम्मानका लागि आफ्नो तर्फबाट पहलकदमी लिने बताउँदै महिलाहरुलाई मर्यादित श्रममा उचित ज्याला दिनुपर्ने बताए । कार्यक्रममा एसपी बसुन्धरा खड्काले आर्थिक कारण महिलाहरुको हत्या सम्म हुन थालेको घटनाहरु प्रस्तुत गरिन् । महिला तथा बालबालिका शाखा प्रमुख प्रहरी निरिक्षक सरस्वती कार्कीले आर्थिक रुपले कमजोर, ज्याला मजदुरी गर्ने महिलाहरु बीच हरेक समय झगडा हुने तथा समस्या लिएर प्रहरी कार्यालय आउने गरेको बताईन् । 
    पाँचखाल नगरपालिका वडा नम्वर १२ का अध्यक्ष ज्ञानबहादुर दनुवार, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, श्रमजिवी महिलाहरु तथा अन्य क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सहजकर्ता निर्मला काफ्ले, श्रमजीवि महिला मञ्च काभ्रेकी अध्यक्ष शान्ति श्रेष्ठ लगायतको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । सबै श्रमिकहरूको पञ्जिकरण गरी अभिलेखीकरण गर्ने स्थायी प्रणाली श्रम डेस्कको व्यवस्था गर्न, कृषक महिला श्रमिक लगायत अन्य श्रमिकहरूको वर्गीकृत तथ्याङ्क संकलन गरी अभिलेख राख्न, कृषक महिलाहरूलाई कृषक परिचय पत्र वितरण गर्न, अनौपचारिक क्षेत्रका सम्पू्र्ण श्रमिकहरूलाई परिचयपत्रको व्यवस्था गर्ने प्रक्रियाको थालनी गर्न, वैदेशिक रोजगारीमा रहेका र वैदेशिक रोजगारीबाट फर्किएर आएका महिला लगायत श्रमिकहरूको तथ्याङ्क अद्यावधिक गरी उनीहरूको अवस्था बारे जानकारी राख्न र पालिका भित्र रहेका सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न यथोचित प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा पहल गर्न महिलाहरुले माग गरेका छन् ।