बनेपा/सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले हरेक वर्ष महिलाहरुको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्दै उपाध्यक्ष आमा बचाउ कार्यक्रम अन्र्तगत महिलाहरुको पाठेघरसँग सम्वन्धित उपचार बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा गराएको छ । अस्पतालले ७ महिनाको अवधीमा एक सय महिलाको उपचार निःशुल्क गराएको छ ।
शिर मेमोरियल अस्पताल बनेपाले निःशुल्क शल्यक्रिया, खाना तथा अन्य सेवा निःशुल्क गरेको मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले बताईन् । चालु वर्षको ७ महिनामा एक सय जना महिलाको निःशुल्क शल्यक्रिया गरिएको डा. बस्नेतले बताईन् । शिर मेमोरियल अस्पतालले महिलाको पाठेघर सम्वन्धी उपचारका लागि विशेष प्रकारको ब्यवस्था गरेको उनले बताईन् । ‘लगातार तीन वर्ष देखि महिलाहरुको स्वास्थ्य उपचार सम्बन्धी विविध कार्यक्रम गरिरहेका छौं’–गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले भने–‘महिलाहरुको पाठेघरको परिक्षण, उपचार तथा रोकथाम र सुत्केरी महिला भेटघाट, पोषिलो खानेकुरा, आँखा शिविर लगायतका स्वास्थ्य कार्यक्रमहरु संचालन गरिएको छ ।’
गाउँपालिकाले उक्त कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७९÷०८० मा ११ जना महिलाहरुलाई काठमाडांैमा रहेको प्रसुती गृहमा लगेर पाठेघर सम्वन्धीको उपचार गराएको छ भने आर्थिक वर्ष २०८०÷०८१ मा १३ जना महिलालाई भक्तपुर अस्पतालमा र आर्थिक वर्ष २०८१÷०८२ मा बनेपाको शिर मेमोरियल अस्पतालमा १२ जना महिलाहरुको निःशुल्क उपचार गराईएको छ । गाउँपालिकाले महिलाहरुलाई पालिका देखि अस्पतालसम्म आउन जान निःशुल्क यातायात, रेखदेख तथा रोगको स्क्रिनिङ्ग गराएको छ । गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालले गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको वर्ष देखि नै महिलाहरुका समस्या सुन्न उपाध्यक्ष आमा बचाउ कार्यक्रम शुरु गरिएको बताईन् । महिलाहरुका अनेकन समस्या समाधानका लागि उपाध्यक्ष महिला हुँदा सहज हुने भएकाले उक्त कार्यक्रम प्रभावकारी भएको उनले बताईन् । स्वास्थ्य शाखा प्रमुख चन्दननारायण शाहले गाउँपालिकाले लिएको कार्यक्रमलाई प्रभावकारी ढंगले नागरिकहरुको स्वास्थ्यमा केन्द्रित गरेको बताए । अस्पताल भर्ना गरिएको महिलाहरु ३ देखि ५ दिनसम्म अस्पताल बस्नुपर्ने छ । ६९ वर्ष पुगेका महिलाहरु वर्षाै देखि यो समस्याबाट पीडित थिए । बिरामी आमाहरुको अवस्था बुझ्न गाउंपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा, उपाध्यक्ष गिता कुमारी नेपाल, स्वास्थ्य शाखा प्रमुख चन्दन नारायण शाह र अनमी साबित्री बिक लगायतको टोली शिर मेमोरियल अस्पताल आएका छन् । बिरामीहरुको अवस्थाका बारेमा जानकारी लिदै उनिहरुले स्वास्थ्य लाभको कामना गरेका थिए ।





