धुलिखेल/धुलिखेल हाई स्कुल धुलिखेलको ३५ औ बर्षिकोत्सव तथा अभिभावक दिवस २०८१ विद्यालयका संस्थापक प्रिन्सिपल तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुनियाँलाल माकजुको अध्यक्षता तथा नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम कमाउन सफल धुलिखेलको शिक्षा, स्वास्थ्य तथा पूर्वाधार र वातावरण मैत्री कार्यक्रममा शिक्षाको गुणस्तरीयता, ब्यवहारीकता र संस्कार आवश्यक रहेको बताए । ‘ब्यवहारीक ज्ञान र शिक्षाबाट मात्रै समृद्ध नगर र मुलुक निर्माण सम्भव छ’–नगर प्रमुख ब्याञ्जुले भने–‘धुलिखेल हरेक क्षेत्रमा गुणस्तर कायम गर्न चाहन्छ । विश्वविद्यालय, अस्पताल, पर्यटकीय क्षेत्र होटल तथा रेस्टुरेन्टहरु, विद्यालय तथा अन्य पूर्वाधार र त्यहाँबाट उपलब्ध सेवामा गुणस्तरका लागि प्रतिबद्ध छ ।’ धुलिखेल क्षेत्रको शिक्षाको गुणस्तरमा धुलिखेल हाई स्कुलले पु¥याएको योगदानको चर्चा गर्दै नगर प्रमुख ब्याञ्जुले आगामी दिनमा प्रविधिसँग जुध्न सक्ने ब्यवहारीक ज्ञान समेटिएको शिक्षा उपलब्ध गराउन अनुरोध गरे ।
कार्यक्रममा विद्यालयका प्रबन्धक संचालक अनमोल माकजु श्रेष्ठले चरित्र सुधार, संस्कार सहितको शिक्षा र विकास, ब्यवहारीक र गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष्य पूरा गर्न निरन्तर सक्रिय रहेको बताए । विद्यालयले एक हजार भन्दा धेरै विद्यार्थीहरुलाई एसईई तथा एसलसी उत्तिर्ण गराएको छ भने २०७४ साल देखि संचालन गरेको बसुन्धरा मेमोरियल किण्डर गार्टेन मार्फत ३ सय विद्यार्थीलाई दिक्षित गराएको छ । कक्षा ८ तथा जिल्ला स्तरीय परीक्षा, एसईई लगायतका परीक्षामा सहभागि भई उत्कृष्टता हासिल गरिरहेको विद्यालयले आगामी दिनमा प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्ने संस्कार र ब्यवहारीक ज्ञान सहितका विद्यार्थीहरु उत्पादनका लागि प्रयत्नरत रहेको विद्यालयका प्रिन्सिपल आसिफ माकजु श्रेष्ठले बताए ।
कार्यक्रममा नगरपालिकाका संस्थापक नगर प्रमुख बेलप्रसाद श्रेष्ठ, धुलिखेल नगरपालिका शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरी, विद्यालयका संचालकहरु, प्याब्सन काभ्रेका अध्यक्ष श्यामप्रसाद भुजेल, धुलिखेल प्याब्सनका प्रमुख सल्लाहकार तथा माउन्ट भ्यू स्कुलका प्रिन्सिपल मुक्तिनाथ रिजाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, अभिभावक प्रमिला श्रेष्ठ, विद्यार्थी भूमिका थापा लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । शिक्षिका देवकी अधिकारीले संचालन गरेको कार्यक्रममा धुलिखेल नगरपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, विद्यालयको विभिन्न जिम्मेवारीमा रहेका शिक्षक तथा कर्मचारीहरु, अभिभावकहरु, विद्यालयका शुभ चिन्तक तथा विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तिहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमका अलावा पछिल्लो समयमा मोवाईलका कारण विद्यार्थीहरुमा परिरहेको प्रभाव तथा मोवाईल नहुँदा विद्यार्थीहरुले गरिरहेको ब्यवहारका बारेमा नाटक मार्फत चित्रण गरेका थिए । नियमित गृहकार्य, खेल तथा शारिरीक ब्यायाम, दिनचर्या, सामुहिकता र समुदायीकरणमा विद्यार्थीहरुले पु¥याएको योगदानलाई मोवाईलका कारण खुम्चिदै गएको, विद्यार्थीहरुमा सामुहिकता हराएको तथा नियमित कर्म समेत विद्यार्थीहरुले मोबाईलका कारण समयमा गर्न नसकेको जस्ता विषय नाटकमा समेटिएको थियो ।





