जीवनमा केही राम्रो गर्नु छ भने, पहिलो पाइलामा नै डरलाई जित्नुपर्छ उनी भन्छन् । यो कुरा उनले आफ्नो जीवनकालको पहिलो व्यवसाय सुरु गर्दा महसुस गरेका थिए । जुन दिन उनले आफ्नो पहिलो व्यावसायिक कामको यात्रा शुरु गरे, त्यो दिन सम्झँदा अझै पनि उनको अनुहारमा चमक आउँछ । न कुनै बैंक वित्तीय संस्थाको सहयोग थियो, न कामको अनुभव, थियो त केवल आत्मविश्वास र दृढ संकल्प ।
बुबा दिल बहादुर दमाई र आमा पद्म कुमारी दमाईको कोखबाट वि.सं. २०३१ साल चैत्र ११ गते नमोबुद्धको पात्लेगाउँ भन्ने एउटा सानो गाउँमा जन्मेका उनी हुन् डोरबहादुर दमाई । गाउँघरमा बिहान बेलुका छाक टार्न मुस्किल त्यस बेलाको अवस्था उनी सम्झन्छन् । तर उनले जिन्दगीमा एउटै अठोट लिएका थिए “म कसैको काम गर्दिन बरु ३ हजारको मात्र किन नहोस् म आफ्नै व्यवसाय गर्छु ।” यही आत्मविश्वास लिएर उनी वि.सं. २०५३ सालमा पात्लेगाउँबाट गाडी चढी राजधानीतर्फ लागे । त्यसबखत उनी १९ वर्षका थिए । त्यति बेलाको समयमा राजधानीमा उनले न कसैलाई चिन्दथे न कसैले उनलाई । केही गर्न सकिन्न की, बरु घरै फर्किनु पर्छ की भन्ने कुराले पिरोलिरहन्थ्यो । उनीसँग थियो त केबल आफ्नो बाउ बाजेदेखि गर्दै आएको सिलाई बुनाई गर्ने कामको सीप । उनले ठमेलमा एउटा सानो ठाउँमा दुईवटा कपडा सिउने खुट्टे मेसिन राखेर आफ्नो व्यावसायिक जीवनको यात्रालाई शुरु गरे । केही वर्ष जसोतसो राजधानीमा टिकेर बसे । बिस्तारै त्यहाँको माहोलसँग अभ्यस्त हुँदै गएका उनले ठमेलमा उतिबेला देखि नै विदेशीहरुको धेरै चहलपहल हुने हुँदा विदेशीहरुले रुचाउने खालका कपडा सिउन उपयुक्त हुन्छ भन्ने ठाने र कपडा पसलेहरुसँग अर्डर लिएर कपडा सिलाउन थाले । त्यतिबेला एक पिस कपडा बनाए बापत उनलाई १५ रुपैयाँ आउथ्यो । उनले दिनभरमा राम्रै कपडा सिलाउँदथे, जसले अलि सहज हुँदै गयो । उनमा हिम्मत पनि बढ्दै गयो र बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.बाट श्रीमतीको नाममा २० हजार रुपैयाँ ऋण सापटी लिएर एउटा सटर भाडामा लिए । त्यतिबेला एकजना काम गर्ने कामदार समेत राखेर व्यवसाय विस्तार गरेको कुरा उनी सम्झन्छन् । विस्तारै उनको व्यवसाय फस्टाउँदै गयो । कमाई पनि राम्रै भयो ।
तर समय सधैँ कहाँ एकनाश रहन्छ र ? २०७२ सालमा गएको महाभुकम्प र त्यसबाट परेको प्रभावले उनको व्यवसाय सुस्तायो । विस्तारै व्यवसायले केही लय लिन मात्र थालेको थियो । केही समयमा नै विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रकोपले गर्दा व्यवसाय अस्तव्यस्त नै भयो । उनी काठमाडाँैको महँगो भाडा र अत्याधिक खर्चको चपेटामा पर्दै गए र अन्त्यमा उनले गाउँ नै फर्कने निर्णय गरे । गाउँ फर्कदै गर्दा सहकारीबाट ऋण लिई घरको तला थपेर घरमै आफुले गर्दै आएको व्यवसायलाई निरन्तरता दिन्छु भन्ने योजना बनाए ।
योजना मुताविक उनले बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. बाट ऋण लिएर घरको तला थपी आफ्नै घरमा व्यवसाय विस्तार गरे । आफ्नै घर भएको हुँदा उनलाई चर्को भाडा र खर्चको भार परेन । काठमाडौंको भन्दा राम्रो पैसा बचत हुन थाल्यो । उनले सहकारीबाट लिएको ऋणको किस्ता ब्याज सजिलै बुझाउँदै गएँ । ऋण पनि छिट्टै घट्दै गयो । उनी भन्छन् “मलाई बुडोल सामुदायिक सहकारीले मेरो अभिभावकले गर्ने काम गरेको छ । मलाई कसैले नपत्याउने त्यो समयमा सारथीको काम ग¥यो । त्यही भएर म र मेरो परिवार आजसम्म बुडोल सहकारीमा मात्र सदस्य छौं ।” “हामीलाई अन्त किन जानु प¥यो र? गाह्रोसाह्रो पर्दा आर्थिक सहयोग पनि गरेकै छ । आवश्यक पर्दा सरल रुपमा ऋण पनि दिएकै छ” उनी थप्छन् । यसैगरी उनले पुनः सहकारीबाट ऋण थप गरी हालसम्ममा १२ वटा बिजुलीबाट चल्ने मेसिन खरिद गरेका छन । अहिले उनको कमाई सालाखाला मासिक १ लाख २० हजार जति हुन्छ । विदेशमा रहेकी बुहारीलाई समेत नेपालमै बोलाएर आफ्नै पेशामा संलग्न गराउने उनको सोच छ । अब विदेशीहरुले लगाउने कपडा आफैले उत्पादन गरी बजारमा बिक्री गर्ने उनको योजना छ । त्यसले आम्दानीमा अझै थप उचाई लिने कुरामा उनी विश्वस्त छन् । अहिले डोर बहादुरको कारखानामा उनी र उनको दुई छोरा, एक छोरी, एक बुहारी सहित गाउँका ४ जना भतिजाहरुले पनि रोजगारी पाएका छन् । परिवारका सबै सदस्य घरकै खाना खाएर घरमै बसेर व्यवसाय सञ्चालन गरी गाउँका केही युवाहरुलाई समेत रोजगार दिई काम गर्दै आईरहेका छन् । उनी भन्छन ककजीवनमा जस्तो सुकै परिस्थिति आए पनि आफ्नो जीवनको लक्ष्यलाई पछ्याउँदै अगाडि बढ्दा एक दिन गन्तव्यमा पक्कै पुगिन्छ, बस् बीच बाटोबाटै फर्किनु भने हुन्न । विदेशमा गए मात्र पैसा कमाईन्छ, नेपालमा पैसा कमाउन र जोगाउन सकिन्न भन्नेहरुलाई उनी भन्छन, “नयाँ सीप सिकेर अथवा आफ्नो पुर्खाले सिकाएका सीपलाई सदुपयोग गरेर पनि हामी आत्मनिर्भर बन्न सक्छौँ । तर मेहनत र परिश्रम चाँहि गर्नुपर्छ, यहाँ पनि कामै गर्नुपर्छ, विदेशमा पनि कामै गर्नुपर्छ । –प्रस्तुती -उमेश आचार्य





