2026 April 28/ 04:08: 12pm

    बनेपा/क्षितिज इङ्गलिस बोर्डिङ्ग स्कुल बनेपाले १८ औ बार्षिकोत्सव, एसईई विदाई तथा पुरस्कार वितरण कार्यक्रम काठमाडौ विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा.अच्युत वाग्लेको प्रमुख आतिथ्यता तथा संचालक समिति अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै निमित्त उपकुलपति प्रा.डा.अच्युत वाग्लेले विद्यालय तह देखि नै बालबालिकाहरुलाई नेपालको माटो सुहाउँदो ब्यवहारीक र प्राविधिक विषयको अध्यापन गराउन आवश्यक रहेको बताए । नेपालको शैक्षिक जनशक्ति विदेशिने क्रम बढिरहेको तर विदेशको जनशक्तिलाई नेपाल भित्र्याउने वातावरण बनाउन नसकिएको बताउँदै विश्वविद्यालय स्तरको शिक्षालाई प्रभाव पार्ने विद्यालय तहको शिक्षालाई गुणस्तरीय, बैज्ञानिक र अनुसन्धानमुलक हुनु पर्ने बताए । संस्थापक अध्यक्ष गोविन्दलाल प्रधानाङ्गको अध्यक्षतामा शुरु भएको विद्यालयले स्थापनाको १८ औ वर्ष विविध कार्यक्रमका साथ मनाएको छ । 
    कार्यक्रममा विद्यालयका प्रिन्सिपल लिलाधर पौडेलले विद्यालयको समग्र शैक्षिक अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उदयराम कायश्थ, प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, संचालक समिति सदस्य हरिगोपाल प्रधानाङ्ग, विमला शर्मा चौलागाई, शिक्षक रश्मिला तामाङ, कार्यवाहक वडा अध्यक्ष लालकृष्ण तिमल्सिना लगायतले विद्यालयको योगदानका बारेमा जानकारी गराएका थिए । सोहि अवसरमा विद्यालयका विभिन्न तहमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।